धरानः यसअघिको उपबिजेता चर्च ब्वाइज युनाइटेडले धरानमा जारी अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको सेमिफाइनलको यात्रा तय गरेको छ ।
२६ औं संस्करणको आमन्त्रण प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । धरान रंगशालामा आइतबार भएको खेलमा चर्च ब्वाइजका रिचार्ड विल्सनले निर्णायक गोल गरेका थिए ।
विल्सनले खेल सुरु भएको ३० सेकेण्डमै गोल गरेका थिए । खेल सुरु भएको दोस्रो मिनेटमा पुलिसका सञ्जीव लामा र दिपेश गुरुङबीच हात हालाहाल भएपछि दुबै जनालाई रेफ्री कबिन ब्याञ्जनकारले रेडकार्ड दिएर मैदान बाहिर पठाएका थिए ।
बाँकी समय दुवै टिम १०–१० खेलाडीमा सीमित भएका थिए । खेलको म्यान अफ द म्याच निर्णायक गोल गरेका रिचार्ड घोषित हुँदै नगद १० हजार पाए ।
आइतबारको बिजेता चर्च ब्वाइजले अब झापा ११ र सातदोबाटो युथ क्लबबीच मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेल बिजेतासँग आगामी बिहीबार सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ । झापा ११ ले रोयल थिम्पु फुटबल क्लब भुटानलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्दा सातदोबाटोले सिधै वाई पाएर अन्तिम आठको यात्रा तय गरेको थियो । त्यसअघि सोमबार हुने तेस्रो क्वाटरफाइनलमा आयोजक धरान फुटबल क्लबले पोखराको लालिगुरास एफसीको सामना गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ । फाइनल विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।








