धरानः
लुट्न सके लुट कान्छ, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट
पशुपति शर्माको यो गीत खुब चलेको हो । गीत ७ वर्षअघि सार्वजनिक भएको हो । तर अहिले पनि यो गीत जुनसुकै क्षेत्रमा लागू छ । काठमाडौं–धरान चल्ने रात्रीकालीन यातायातमा पनि यो गीतले भनेजस्तै छ ।
चुनावको मुखमा धरान–काठमाडौं चल्ने रात्रीकालीन बसले मनलाग्दी र मनपरी भाडा असुलिरहेका छन् । वैदेशिक रोजगारबाट चुनावमा मत खसाल्न फर्किएका सुनसरी ४ का अयुव अन्सारीले धरान आउने रात्रीकालीन ‘सिम्रिक’ बसले २५ सय भाडा असुलेको बताए । ‘खासमा धरान आउने यात्रुले कसैले १८ सय, कसैले २ हजारसम्म तिरेको पाएँ तर मैले २५ सय रुपैयाँ तिर्नुपरयो’, उनले भने ।
यस्तै, धरान–५ का एलिना लिम्बूले पनि ३ हजार तिर्नुपरेको गुनासो गरिन् । ‘शुरुमा गाडी प्याक छ भने, पछि ३ हजार भाडा लाग्छ जाने कि नजाने भने, म दोधारमा परें, पछि हुन्छ भनिदिएँ’, उनले थपिन् ।
सरकारले धरान–काठमाडौंको लागि एसी बसको लागि २२ सय रुपैयाँ र नन एसी बसको लागि १८ सय भाडा तोकेको छ । काठमाडौं–धरान फर्कने यात्रुलाई विशेषतः रात्रकालीन सवारीसाधनले तोकिएको रकमभन्दा बढी भाडा असुल्दै लुटधन्दा मच्चाएका हुन् । चुनावमा मत खसाल्न घर फर्किने यात्रुको चाप बढेपछि सवारीसाधनले मनोमानी रकम असुलेको पाइएको हो ।
चुनावको बहानामा सवारीचालकले यात्रुबाट बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा अभद्र व्यवहार गर्ने पाइएको सिम्रिक बसमा चढ्ने यात्रुले गुनासो गरेका छन् । ‘बढी भाडा लिएको मैले पहिल्यै गुनासो गरें तर तपाई नचढ्ने भए अर्को यात्रु आइहाल्छ नि तपाई जाने कि नजाने भन्दै दबाव दिएपछि २५ सय तिर्न बाध्य भएँ’, धरानमा भेटिएका यात्रु सञ्जय थापाले भने ।
काठमाडौंस्थित सिम्रिक बसका स्टाफ विवश थापाले धरानदेखि बस आउँदा खाली आउनुपर्ने भएको र त्यो मेकअप गर्न ३ हजारसम्म भाडा असुलेको बताए । उनले चुनाव सकेर फर्किने यात्रुबाट २२ सय बढी असुल्न सके वर्षभरीको मेकअप हुने बताए ।
यात्रुहरूले आफूलाई सवारीसाधनले टिकट नदिने, टिकट दिएपनि लिएको भाडा रकम नलेखी दिने, बढी भाडा असुल्ने र बढी यात्रु बोकेका कारण कोचाकोचमा कष्टपूर्ण यात्रा गर्नुपरेको गुनासो समेत गरे । यात्रुलाई दुःख दिने तथा बढी भाडा असुल्ने जुनसुकै सवारी साधनलाई पनि सम्बन्धित निकायले त्रियन्त्रणमा लिएर कारवाही गर्न सक्नुपर्ने यात्रुहरू बताउँछन् । यात्रुको चाप बढ्यो भन्दैमा सवारी साधनले मनपरी गर्न नमिल्ने यात्रुको भनाइ छ । यात्रुहरुका अनुसार सरकारले तोकेको रेट अनुसार भाडा साह्रै महङ्गो भएको बताउँदै कहीँकतै अनुगमन पनि नहुने गरेको पाइएको छ । भनेको बेला सवारी नपाउने र सीमित सवारीले मनपरी चर्को भाडा असुल गरेपछि यात्रीले बाध्य भएर यात्रा गर्नुपरेको गुनासो गरे ।
चुनावमा खटिएका ट्राफिक प्रहरी खासै सडकमा देखिँदैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख अनिल माबोहाङले ट्राफिक प्रहरी चुनावमा खटेको र सडकमा कम देखिएको बहानामा चर्को भाडा असुल्ने गरेको गुनासो आएको बताए । उनले अबदेखि ट्राफिकले नियमित चेकजाँच गर्ने र उपभोक्ताले उजुरी गरेको खण्डमा कडा कारवाहीको प्रक्रिया थालिने बताए ।
धरान–काठमाडौं सिम्रिक, पाँचपोखरी, सौगात, न्यू कोशी, न्यू विराट डिलक्स लगायत आधा दर्जन बढी रात्रीकालीन बस सञ्चालनमा छन् । मनपरी भाडा असुल्नु चाहि गलत हो । यस्तो बेलामा बढी पैसा लिएर सेवा दिने काम ठगी हो । सरकारले यस्तो ठगी कार्यमा संलग्नलाई कारवाही गर्नै पर्छ । सरकारले भाडा दर कायम गरे पनि त्यसको यातायात व्यवसायीले भने कार्यान्वयन गरेका छैनन् । यातायात व्यवसायीले मन लाग्दी भाडा उठाएर यात्रुलाई सास्ती दिने काम गलत हो । यसमा सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ । यसमा यात्रुहरु आफै पनि सचेत हुन आवश्यक छ । भाडा जति मागे पनि दिनु हुँदैन । सरकारले तोकेको भन्दा बढी भाडा दिने विषयमा यात्रुले पनि सोच्नुपर्दछ । यसर्थ सार्वजनिक सवारी भाडामा देखिएको मनपरी रोक्न जरुरी छ ।