धरानः सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायले आफ्नो राजनीतिक धारणा सार्वजनिक गरेका छन् ।
नेपाल बसोबास बस्ती संरक्षण समिति, धरान उपमहानगर समिति र जिल्ला सुनसरीले शनिबार संयुक्त पत्रकार सम्मेलन गरी सूर्यबहादुर भट्टराई (मनोज) लाई आगामी निर्वाचनमा सहयोग गर्ने घोषणा गरेको हो ।
समितिले जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घोषणापत्रमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या स्पष्टरूपमा समेटिएको र दीर्घकालीन समाधानका लागि प्रतिबद्धता व्यक्त गरिएकाले समर्थन गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ । समितिका सुनसरी अध्यक्ष थाम्सेर लिम्बूले नेकपाले सुकुम्बासीका मुद्दा प्राथमिकताका साथ उठाएको र सरकारमा पुगेपछि स्थायी समाधान गर्ने आश्वासन दिएकाले साथ दिने निर्णय गरिएको बताए ।
संस्थापक सदस्य राजकुमार राईले सुकुम्बासी समुदायलाई आग्रह गर्दै नेकपाले मात्रै आफ्नो मुद्दा बोकेको दाबी गरे । राईका अनुसार समितिको केन्द्रीय नेतृत्वले समेत राष्ट्रव्यापी रूपमा नेकपा उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरिसकेको छ र यस विषयमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सहमति भएको दाबी गरिएको छ ।
विज्ञप्तिमा २०५७ सालदेखि सुनसरीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको भूमि सहितको सुरक्षित बसोबास अधिकारका लागि संघर्षरत रहेको उल्लेख गरिएको छ। प्रजातन्त्रपछि सात निर्वाचन, ३३ सरकार र १९ वटा सुकुम्बासी आयोग गठन भए पनि समस्या दीर्घकालीन रूपमा समाधान नभएको समितिको भनाइ छ ।
समितिले बसोबासको आधारमा ‘फास्ट ट्र्याक’बाट लालपुर्जा वितरण गर्ने स्पष्ट नीति निर्माण गर्न माग गरेको छ । स्थानीय तहको सिफारिसपछि जिल्ला नापी कार्यालयबाट नापजाँच गरी मालपोत कार्यालयमार्फत लालपुर्जा उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ । सुनसरी–१ मा करिब १४ हजार घरपरिवार भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका बताइएको छ ।
संगठित रूपमा आएको यस समर्थनले सुनसरी–१ को चुनावी समीकरणमा उल्लेखनीय प्रभाव पार्ने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।
