धरानः धरानमा गुडिरहेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।
धरान-६ खैरेनीस्थित सेहरा खोलाको ढुङ्गा लिएर फर्किरहेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धरान–५ बस्ने ५६ वर्षीय रतन मगर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्र–१–०४–००१त ५७२ नम्बरको ट्याक्टरको केरियरमा सवार सोही ट्याक्टरमा काम गर्ने मगर लडेर गम्भीर घाइते भएका थिए । लड्दा उनको चिउँडो, दायाँ पाखुरा र दायाँ तिघ्रामा चोट लागेको थियो ।
घाइते मगरलाई ट्याक्टर चालक ४१ वर्षीय दलबहादुर सार्कीले तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरानमा पुर्याएका थिए। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी नायब निरीक्षक हरी नारायण राजवंशीको कमाण्डमा प्रहरी टोली खटिएको छ।