धरानः गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
धरानमा फागुन २१ गते अर्थात् भोलि हुने प्रतिनिधि सभा निर्वाचनको लागि मतदानस्थलको धमाधम निर्माण कार्य भइरहेको छ । सुनसरी क्षेत्र नं. १ का लागि कतिपय ठाउँमा मतदानस्थलको निर्माण कार्य सकिइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका कर्मचारीले मतदान केन्द्र तयार पारेका हुन् । मतदान केन्द्रको सुरक्षाका लागि खटिएका सशस्त्र र जनपथ प्रहरीको समेत सहयोगमा मतदान केन्द्र तयार भइरहेका छन् । सबैजसो मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टा–छुट्टै प्रवेशद्वार बनाइएको छ ।
‘अधिकांश ठाउँमा मतदान केन्द्र निर्माण भइसकेका छन्’, निर्वाचन अधिकृत दिव्यराज घिमिरेले भने । धरानभर अर्थात् सुनसरी क्षेत्र नं. १ भरमै निर्वाचनको तयारी लगभग पूरा भइसकेको निर्वाचन कार्यालयले जनाएको छ । सुनसरी क्षेत्र नं. १ का लागि सबै मतदान केन्द्रमा सुरक्षाकर्मीसहितका कर्मचारी पुगिसकेको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए ।
बिहीबार बिहानैदेखि ती सबै मतदानस्थलमा मत हाल्ने काम शुरु हुने जनाइएको छ ।
सुनसरी १ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता छन् । निर्वाचन आयोगको विवरणअनुसार यस क्षेत्रमा पुरुष ७२ हजार १८०, महिला ७८ हजार २१२ तथा यौनिक तथा लैंगिक अल्पसंख्यक एकजना मतदाता छन् । धरान र बराहक्षेत्र नगरपालिकाका १, २, ३, ४ र ५ नम्बर वडा सुनसरी १ मा पर्छन् । बराहक्षेत्रको छिमेकी रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ पनि यही निर्वाचन क्षेत्रभित्र छन् ।

कुन वडामा कति मतदाता ?
धरान उपमहानगरपालिका
वडा नम्बर १– ३,३६२
वडा नम्बर २– २,४१७
वडा नम्बर ३– ३,४९८
वडा नम्बर ४– २,६६१
वडा नम्बर ५– ७,६२६
वडा नम्बर ६– ५,६९९
वडा नम्बर ७– २,२८०
वडा नम्बर ८– ८,६९०
वडा नम्बर ९– २,७१५
वडा नम्बर १०– ३,७८८
वडा नम्बर ११– १०,७८८
वडा नम्बर १२– २,९३४
वडा नम्बर १३– ६,८४१
वडा नम्बर १४– ३,२२१
वडा नम्बर १५– १५,७०८
वडा नम्बर १६– ८,८६५
वडा नम्बर १७– १०,२२३
वडा नम्बर १८– २,४७२
वडा नम्बर १९– ४,२४१
वडा नम्बर २०– २,९१०
बराहक्षेत्र नगरपालिका
वडा नम्बर १– ४,५३८
वडा नम्बर २– ५,९२७
वडा नम्बर ३– ६,६८१
वडा नम्बर ४– ४,२६३
वडा नम्बर ५– ६,८३२
रामधुनी नगरपालिका
वडा नम्बर ६– ५,३०३
वडा नम्बर ७– ५,९१०