Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जो परे सुन्दरी युवतीको मायाजालको पासोमा

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०८२, शुक्रबार
धरानमा जो परे सुन्दरी युवतीको मायाजालको पासोमा

धरानः धरानमा केहीदिनअघि सुनसरी १ बाट संविधानसभा सदस्य (सांसद्) पदमा निर्वाचित हर्कराज राई (साम्पाङ) को विजय रयाली अघि बढिरहेको थियो । त्यतिकैमा मोटरसाइकलमा सवार रहेका साम्पाङकै समर्थक समेत रहेका नविनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनलाई धरान–१५ श्यामचोकबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । ‘युवतीले मोटरसाइकल हराएको भन्दै उजुरी परेपछि उनी नियन्त्रणमा परेका हुन्’, डिएसपी राई भन्छन्, ‘अहिले उनी इलाका प्रहरी कार्यालयमै सोधपुछमै छन् ।’
नविन बाग्मती प्रदेश ०२–३६प५५४० नम्बरको बुलेट मोटरसाइकलमा सवार थिए । बिहीबार उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो मोटरसाइकल चोरी भएको विषयमा नेपाल प्रहरीले सातदोबाटो, काठमाडौं परिसरबाट हुलियासहितको परिपत्र जारी भएको थियो । सोही आधारमा मोटरसाइकल चलाइरहेका राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । युवतीले दिएको जाहेरीका आधारमा उनी प्रहरी नियन्त्रणमा परेका हुन् । श्रम संस्कृति पार्टीका सभापति दिनेश राईले उनी कुनै पदमा नरहे पनि समर्थक रहेको पाइएको बताए । यस विषयमा पार्टीले थप बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।
सुन्दरी युवतीको मायाजालको पासोमा नविन
प्रेमिका मात्रै होइन, सपनाकी राजकुमारी खोज्ने र सुन्दरीसँग विवाह गर्ने आकांक्षाका कारण पनि हनी ट्रयाप सुन्दरीका शिकार भएका घटना प्रहरीमा भेटिन्छन्, त्यस्तै घटना यो हो भन्छ प्रहरी । शारीरिक आकर्षणमा लोभ्याएर सुन्दर युवतीहरुले पुरुषलाई फसाउने कला हो हनी ट्रयाप । जसरी झिँगा महको लोभमा मह खाएर उड्न खोज्छ, तर उड्न नसकेर ट्रयापमा पर्छ । त्यसैगरी हनी ट्रयापमा महिला शरीर प्रयोग गरिन्छ ।
सुन्दरीसँग विवाह गर्ने सपनाले नविनले ३५ लाख गुमाए त गुमाए नै अहिले प्रहरी खोरमा समेत पुगेका छन् । राम्रो सम्बन्ध रहँदै आएको तर बार्गेनिङ शुरु भयो । केही समय नविनले उनीहरुले मागेजति पैसा दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले सुन्दरी युवतीको मायाजालको पासोमा युवा नविन परेको डिएसपी राईले बताए ।
खोटाङ वाक्सिलाकी करिब २५ वर्षीया राई थरकै एक युवतीले नविनलाई अमेरिका लैजान्छु भनेर डिभोर्स समेत गराएको पाइएको प्रहरीले जनाएको छ । नविन हुनेखाने देखेपछि युवतीले मायाजालमा पारेर यस्तो हर्कत गरेको पाइएको प्रहरीको भनाइ छ । ३५ लाख रुपैयाँ पैसा पनि ती युवतीले चलाएको प्रारम्भिक अनुसन्धानले देखाएको र थप अनुसन्धानलाई तीब्रता दिइएको डिएसपी राईले बताए ।
‘खासमा युवतीले केटालाई मायाजालमा फँसाएर ३५ लाख रुपैयाँ समेत चलाएको पाइएको छ’, डिएसपी राईले खुलाए, ‘साथै मोटरसाइकल पनि युवतीकै नाममा पास भएको पाइएको र उनले उजुरी दिँदा उनी फन्दामा परेको पाइएको छ, थप अनुसन्धान हुँदैछ ।’ उनले युवतीसँग युवाको लफडाको कारण यहाँसम्म आइपुगेको समेत बताए ।
डिएसपी राईले ती युवतीले माया गरेजस्तो देखाउने गरेको पाइएको पनि बताए । ‘ती युवती केटाहरुलाई माया गर्छु भनेर सम्बन्ध विस्तार गर्ने, माया गरेजस्तो देखाउनेजस्ता क्रियाकलाप गर्ने र ब्ल्याकमेलमा संलग्न रहेको समेत पाइएको छ, थप अनुसन्धानले देखाइहाल्छ ।’ उनी भन्छन् ।
रूपवान् युवतीसँग शारीरिक सम्बन्ध बनाउने लालशाले हनी ट्रयाप सुन्दरीको शिकार भइरहेका घटनामध्ये यो पनि एक भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाइसकेको डिएसपी राईले बताए । ‘पैसा कमाउन फन्डा गर्ने यी सुन्दरी युवती नाटक गरेर, नक्कली प्रेमिका बनेर युवाहरू फसाउन माहिर रहेको पाइयो ।’ उनी थप्छन् ।
के हो हनी ट्रयाप ?
शारीरिक आकर्षणमा लोभ्याएर सुन्दर युवतीहरूले पुरुषलाई फसाउने कला हो– हनी ट्रयाप । जसरी झिँगा महको लोभमा त्यसमाथि बस्छ, मह खाएर उड्न खोज्छ तर उड्न नसकेर ट्रयापमा पर्छ, त्यसैगरी हनी ट्रयापमा महिला शरीर प्रयोग गरिन्छ । यसमा सुन्दर युवतीलाई प्रयोग गरेर शारीरिक सुन्दरताको लोभ देखाइ आफूअनुकूल ठाउँमा पुरयाई फसाइन्छ । खासगरी रूपवती युवतीलाई प्रयोग गरिने यो शैली जासुसीका लागि लडाइँहरूमा समेत प्रयोगमा आएको पाइन्छ । टार्गेटेड व्यक्तिसँग युवतीको मित्रता जोडिन्छ । पछि बिस्तारै उनीहरू नजिकिँदै आपसमा घुलमिल हुन थाल्छन्, त्यसपछि पैसा, सूचना फुत्काउने काम गरिन्छ । यसका लागि युवतीहरू केवल लक्ष्यलाई प्राप्त गर्न ‘सेक्सुअल ब्ल्याकमेलिङ’ पनि गर्छन् । –शीर्षक सच्याइएको छ ।

प्रकाशित मिति: फाल्गुन २९ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend