धरानः धरानमा कोठा र टेम्पो स्टेण्डमा लागूऔषध भेटेपछि दुईजना युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार धरान उपमहानगरपालिका–१५ ललित टोलमा लागूऔषध कारोबार भईरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरी टोलीले २२ वर्षीय युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय पवन सापकोटा रहेका छन् । उनको कोठामा चेकजाँच तथा खानतलासी गर्दा निजको कोठाबाट लागू औषध ट्रामाडोल ३०५ क्याप्सुल र स्पास्पेन ३१० ट्याब्लेट फेला परेको थियो ।
यस्तै, अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका वडा नं. १६ टेम्पो स्टेण्डमा चेकजाँच गर्ने क्रममा लागूऔषध फेला परेपछि युवा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय आयुष गुरुङ रहेको प्रहरीले जनाएको छ । चेकजाँच तथा खानतलासी गर्दा निजको हातमा भएको झोलाबाट लागूऔषध ट्रामाडोल ३०० क्याप्सुल र डिकोलिक ३०० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । दुवैलाई लागू औषधसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको डिएसपी राईले जानकारी दिए ।