धरानः धरानको साकेला पार्कनजिकै १९ वर्षीया एक किशोरीलाई लगेर जबर्जस्ती करणी गर्ने एकजना पक्राउ परेका छन् ।
युवतीलाई पार्कनजिकै लगेर करणी गर्नुका साथै कुटपिट गर्दै मोबाइल समेत लगेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सफारी चालक सुनसरीको रामधुनी नगरपालिका–२ परिसापुर बस्ने २६ वर्षीय रोशन विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
गएको चैत ६ गते बेलुका सो घटना भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । धरान उपमहानगरपालिका–५ घर भई हाल मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँस्थित मावली घर बस्दै आएकी ती युवतीलाई अपहरण शैलीमा लगेर करणी र लुटपाट गरेको प्रहरीले जनाएको छ ।
मावली घरमा बस्दै आएकी ती किशोरी धरान–५ स्थित घरमा कपडा लिन आएकी थिइन् । धरानस्थित भोटेपुलमा बसको प्रतीक्षामा रहेकी उनलाई ती सफारी चालकले चढ्न आग्रह गर्दा उनी त्यहाँ चढेकी थिइन् ।
पीडित किशोरीको आफन्तले प्रहरीमा किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार चालकले किशोरीलाई एकान्तमा लगेर कुटपिट गरी अचेत बनाएका थिए । चालकले किशोरीलाई गलत बाटो हुँदै एकान्त जंगल क्षेत्रमा पुर्याएर बलात्कार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनास्थल आसपासका सीसीटीभी फुटेजको सुक्ष्म अध्ययन गरेको र फुटेजका आधारमा सवारीसाधनको पहिचान भएको उनको भनाइ छ । पक्राउ परेका विश्वकर्माविरुद्ध जबरजस्ती करणी तथा अन्य सम्बन्धित कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। इप्रका धरानका डीएसपी राईले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।