Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१६ को भकारी स्कुलमा सुविधासम्पन्न ‘धरान नगर अस्पताल’ बनाउने तयारी

हाम्रो कोशी आवाज
चैत्र १८ २०८२, बुधबार
धरान-१६ को भकारी स्कुलमा सुविधासम्पन्न ‘धरान नगर अस्पताल’ बनाउने तयारी

धरानः धरानमा उपमहानगरपालिकाले सुविधासम्पन्न नगर अस्पताल सञ्चालन गर्नका लागि प्रक्रिया थालिएको छ ।
धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) मा नगर अस्पताल सञ्चालनको तयारी थालिएको वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिए । धरान–१६ मा ८ वटा सामुदायिक स्कुल रहेको र यसअघि कक्षा–८ सम्म पठनपाठन हुँदै आएको सो विद्यालयमा कक्षा–५ सम्म पठनपाठन हुँदै आएको छ । सो विद्यालयमा विद्यार्थी अहिले करिब २५ जना रहेको र सो स्कुललाई चन्द्र संस्कृत माविमा मर्ज गरेर त्यहाँ अस्पताल सञ्चालनको लागि पहल थालिएको उनले जानकारी दिए । यसअघि पनि सो स्कुल धरान–१७ मा मर्ज गर्न खोजिएको थियो ।
कार्यवाहक मेयर अइन्द्रविक्रम बेघालाई बुधबार वडाबासी, राजनीतिक दल, टिएलओ प्रतिनिधि, विभिन्न क्लबका प्रतिनिधि सम्मिलित सहमतिपत्र बुझाउन वडाध्यक्ष पुगेका थिए । कार्यपालिका बैठकले सो स्थानमा नगर अस्पताल सञ्चालनको लागि निर्णय गर्नुपर्छ भन्दै वडाध्यक्ष त्यहाँ पुगेका हुन् । पत्रमा हस्ताक्षर गर्दै कार्यवाहक मेयर बेघाले कार्यपालिका बैठकमा यो कुरा अगाडि बढाउने बताए । वडाध्यक्ष भट्टराईले यो ठाउँ उपयुक्त रहेको र साढे तीन कट्ठा जग्गामा अस्पताल बनाउँद सबैलाई सेन्टर पनि पर्न जाने हुनाले यो प्रस्ताव ल्याइएको बताए ।
पाँच शैथ्याको अस्पतालको रुपमा सञ्चालन गर्ने गरी उपमहानगरले नगर अस्पताल सञ्चालनको सोच बनाएपनि तत्काल कार्यान्वयनमा ल्याउन नसेकिएका र यस वर्ष वर्षबाट काम थालेको उनको भनाइ छ । नगर अस्पताल सञ्चालनमा आवश्यक पर्ने भौतिक संरचना बनाउन उपमहानगरपालिकाले २ करोड यसअघि नै छुट्याएको र थप दुई करोड थपेर काम शुरुवात गरेपछि केन्द्र सरकारले पनि सहयोग गर्ने कार्यवाहक मेयर बेघाको भनाइ छ ।

यसअघि धरान उपमहानगरपालिकाले धरान–१ मा रहेको पुरानो अस्पताललाई नगर अस्पताल बनाउने योजना अघि सारेपनि हालसम्म कुनै प्रगति हुन सकेको छैन । निर्माणाधीन भौतिक संरचनाहरु अलपत्र अवस्थामा छन् भने पुराना भवनहरू जीर्ण बन्दै गएका छन् । यसअघि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएर नगर अस्पतालका लागि बजेट निकासा भएपछि निर्माण कार्य प्रारम्भ गरिएको थियो । तर विविध कारणले निर्माण कार्य अधुरै रहयो ।
पछिल्लो समय संघीय सरकारले स्थानीय सरकारलाई निर्माणको जिम्मेवारी हस्तान्तरण गरे पनि धरान उपमहानगरपालिकाले यो परियोजनालाई पूर्णता दिन सकेको थिएन ।
विगतमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सो क्षेत्रमा सय शैथ्याको अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो । तर उपमहानगरपालिकाले प्रतिष्ठानको स्वामित्वमा रहेको १ बिगाहा १३ कठ्ठा १४ धुर क्षेत्रफलको जग्गामा नगर अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित काम अगाडि बढाउने बताएपनि ठोस कदम देखिएको छैन ।
संविधानअनुसार शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवाहरू नागरिकले सहज रूपमा पाउनुपर्ने व्यवस्था छ । अझ संघीयता लागू भएसँगै प्रत्येक स्थानीय तहमा नगर अस्पताल सञ्चालन गर्ने अवधारणा अघि सारिएको भए पनि धरानमा भने यो कार्य केवल योजनामै सीमित छ । सर्वसाधारण अझैपनि महङ्गा निजी अस्पतालमा उपचार गराउन बाध्य छन् ।
स्वास्थ्य विमा बोर्डले प्रथम सेवा विन्दुबाट बप्पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हटाएपछि नगर अस्पतालको चर्चा चुलिएको थियो । २०७४ सालमा धरान अस्पतालको करिब १ बिगाहा ४ कट्ठा १३।१ धुर जमिन बीपीमा गाभिएको हुँदा सो जग्गा बीपीबाट फिर्ता लिएर नगरले वा जिल्लाले नै अस्पताल सञ्चालन गर्नुपर्ने स्थानीयको माग रहेपनि त्यो सम्भव भएको छैन ।

प्रकाशित मिति: चैत्र १८ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend