धरानः प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन् । उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा बुझाएका हुन् ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी)सहितका दलसँग एकता गरेपछि उनले पार्टी छाडेर प्रलोपा बनाएका हुन् । राजीनामा दिए पनि स्वीकृत भइनसकेको छैन । खम्बुवान, माओवादी हुँदै प्रलोपामा पुगेका किराती अब हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने चर्चा छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले भोजपुर र सुनसरी–१ बाट किरातीको नाम सिफारिस गरेको थियो । तर, किरातीले सामाजिक सञ्जालमार्फत यसपटक चुनाव नलड्ने जानकारी दिएका थिए । आफूले उम्मेदवारी दिँदा नयाँहरूको मत काटिने र पुरानै दलले जित्ने सम्भावना भएकाले चुनाव नलड्ने बताउँदै श्रम संस्कृति पार्टीलाई सहयोग गर्ने भनेका थिए ।
उनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र भोजपुरमा ध्रुव राईलाई समर्थन रहने पनि उल्लेख गरेका थिए ।
उनले फेसबुकमा लेखेका छन् ।
हामीले श्रम संस्कृति पार्टीको उम्मेदवारहरूलाई सुनसरी–१, भोजपुर र खोटाङमा निःसर्त समर्थन गरेको थियौं । निर्वाचित साथीहरूलाई हार्दिक बधाई !
१. अमूल्य भोट दिने नागरिकलाई अभिनन्दन ।
२. भोक, तिर्खा र निन्द्रा त्यागेर मैदानमा खट्ने महानुभावहरुप्रति धन्यवाद ।
३. चुनावको समयमा गर्नुभएको वाचा पुरा गर्नुहोस् । बाँकी दिनमा हाम्रो भूमिका रचानात्मक हुनेछ ।
माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा, रास्वपाका पूर्वप्रमुख सचेतक सन्तोष परियार र नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोब मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको भएको थियो ।
किराँती अहिले साम्पाङसँग सहकार्यतर्फ अग्रसर भएको बुझिएको छ । यता, श्रमसंस्कृति पार्टीका प्रवक्ता सत्य घले गुरुङले पहिला नै पनि उहाँसँग दोहोरो कुराकानी भएको र पार्टीमा ल्याउन पहल भइरहेको बताए । उनले प्रदेश १ को मुख्यमन्त्रीमा उनको नाम जोडिएको बताए । अध्यक्ष साम्पाङसहितका नेताहरूसँग उनको निर्णायक छलफल भइरहेको पनि उनले जानकारी दिए ।