Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सांसद हर्क साम्पाङले अब जनताको माग लिएर प्रधानमन्त्री बालेनलाई भेट्ने

हाम्रो कोशी आवाज
चैत्र २० २०८२, शुक्रबार
सांसद हर्क साम्पाङले अब जनताको माग लिएर प्रधानमन्त्री बालेनलाई भेट्ने

धरानः श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेट्न जाने भएका छन् ।
यसअघि सिंहदरबारमा बोलाएको बैठकमा नजाने बताएपछि चौतर्फी आलोचना भएको थियो । प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै उनले कोठे बैठकमा आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने बताएका थिए । ‘सुनसरी १ का जनताले प्रधानमन्त्रीले बोलाउँदा पनि नजाने कस्तो सांसद् जिताइएछ’ भन्दै प्रश्न तेस्र्याउँदै उनको चर्को आलोचना भएको थियो ।
प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गरेका थिए । यसैका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि पत्र काटेर बोलाएको थियो ।
‘प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाहा भएन । हामी कोठे बैठकमा आउँदैनौँ,’ उनले भनेका छन्, ‘सदनको बैठक बोलाउनुपरयो । हप्ताको एकचोटी कम्तीमा राख्नुपर्छ बैठक । जनताको प्रश्नहरुदेखि भाग्न पाइँदैन । सबै प्रश्नका उत्तर दिनैपर्छ । जय लोकतन्त्र ।’ उनले फेसबुकमा लेखेका थिए ।
बिहीबार सम्पन्न संसदको पहिलो बैठकपछि प्रधानमन्त्रीले हात मिलाउँदै फोन नम्बरसमेत साटासाट भएको दृश्य सार्वजनिक भएपछि चौतर्फी तारिफ भएको थियो । धेरैजसो सुनसरी १ बासीले हो यसरी मिलेर काम गर्नुपर्छ भन्दै अहिले प्रधानमन्त्रीसहित सांसद् साम्पाङको तारिफ गरिरहेका छन् ।
धेरै ढिलोगरी फेसबुकमा स्टाटस लेख्दै सांसद साम्पाङले लेखेका छन्–हिजो औपचारिक र विधिवत सदनको पहिलो बैठक सम्पन्न भयो ! नेपाल सरकारलगायत सबैलाई धन्यवाद ! अब जनताका विकासका मागहरु लिएर प्रधानमन्त्रीज्यूलाई भेट्न जानुपर्नेछ ! विभागीय मन्त्री ज्यूहरुसँग पनि भेट हुनेछ ।
प्रतिनिधिसभाको पहिलो दिनको बैठकको रोचक दृश्य प्रधानमन्त्री बालेन र श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङबीचको जम्काभेट रहयो । उनीहरूबीच जम्काभेट भएको थियो ।
पछिल्लो समय बालेनलाई लक्ष्य गरेर हर्कले सामाजिक सञ्जालमा गरेका टिकाटिप्पणीका कारण उनीहरूको सम्बन्ध चिसो रहेको आकलन गरिँदै आएकोमा बिहीबारको भेट भने हार्दिकतापूर्ण देखिएको छ ।
उनीहरूले संसदको सभाहलभित्र एकअर्कासँग हात मिलाउनुका साथै अंकमाल पनि गरेका थिए । बालेनले नै हर्कलाई अँगालो मार्न हात बढाएका थिए । त्यसपछि उनीहरू संसद हलबाट निस्केर केही बेर करिडोरमा सँगसँगै हिँडेका थिए । त्यस क्रममा पनि उनीहरूबीच हार्दिकतापूर्ण कुराकानी भइरहेको थियो ।
यसअघि बालेन र हर्कबीच ‘लभ एन्ड हेट’ को सम्बन्ध देखिँदै आएको छ । काठमाडौं महानगर कार्यालयमै बालेनलाई भेट्न आएका हर्कले लिम्बू संस्कृतिमा पवित्र धार्मिक चिह्न मानिने ’सिलाम साक्मा’ बालेनलाई उपहार दिएका थिए। बालेनले सांसदका रूपमा शपथ लिँदा छातीमा सिलाम साक्मा लगाएरै आएका थिए ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि भने उनीहरूको सम्बन्धमा चिसोपना देखियो । त्यति बेला हर्क आफूलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै काठमाडौं आएका थिए। आफ्नो नाम प्रधानमन्त्रीका रूपमा स्वीकार नगरिएपछि उनी रूष्ट भएका थिए। त्यसपछि बालेनका गतिविधिमाथि टिकाटिप्पणी गर्दै उनले पटक पटक सामाजिक सञ्जालमा लेखेका थिए।
काठमाडौं महानगरको मेयरका रूपमा बालेनले सुकुम्बासी हटाउन डोजर चलाएको विषयलाई पनि हर्कले आलोचना गर्दै आएका छन्। बिहीबारको संसद बैठकमा पनि उनले यो सरकारले ’सुकुम्बासीहरूमाथि डोजर चलाएर उठिबास पार्ने काम नगरोस्’ भनी सचेत गराएका थिए।
बालेनले भने हर्कका यस्ता प्रतिक्रिया र टिप्पणीका बाबजुद आफू उनलाई सधैं माया गरिरहने बताएका छन् । हर्कले आफूमाथि लक्षित गरेर लेखेको फेसबुक स्ट्याटसमा प्रतिक्रिया दिँदै बालेनले त्यसमा जबाफ पनि लेखेका थिए ।
‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। एकतर्फी नै सही, तर मेरो माया साँचो हो,’ बालेनको जबाफ थियो । उनले अंग्रेजीमा यो पनि लेखे, ‘यू आर माई ट्रू लभ’
यति मात्र होइन, बालेनले प्रधानमन्त्रीका रूपमा कोशी प्रदेशका सांसदहरूलाई छलफलको निम्ति डाक्दा पनि हर्क साम्पाङ लगायत श्रम संस्कृति पार्टीका सांसदहरूले भाग लिएनन्। कोठे बैठकमा छलफल गर्न नजाने हर्कको टिप्पणी थियो । यस्ता घटनाक्रमबीच बिहीबारको भेटबाट भने उनीहरूबीच फेरि हार्दिकर्तापूर्ण सम्बन्ध देखिएको छ ।

प्रकाशित मिति: चैत्र २० २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend