धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले निरीक्षण गरेकी छिन् ।
उनीलगायत राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सिर्जना श्रेष्ठ, नेतृ सरिन तामाङ तथा पार्टीका स्थानीय व्यक्तित्वहरुको सहभागिता थियो । उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्मा, रजिष्टार प्रा.डा. सूर्य प्रसाद संग्रौला, अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद, डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बूले उनीहरूलाई स्वागत गरेका थिए ।
स्वागतपश्चात् उपकुलपति कार्यालयमा भएको छोटो छलफलको क्रममा पदाधिकारीहरूले प्रतिष्ठानको जल्दोबल्दो समस्याहरुको बारेमा क्रमशः अवगत गराएका थिए । नेपाल सरकारले भुक्तानी दिनुपर्ने बीमाको रकम, विद्यार्थी कटौतीको नीति आदिका कारण प्रतिष्ठानले चरम आर्थिक संकटको सामना गरिरहनुपरेको बारे पदाधिकारीहरूले जानकारी दिएका थिए ।

सो समस्याहरुको समाधानका लागि पहल गर्न समेत अनुरोध गरिएको थियो । प्रतिष्ठानको समस्याहरुको यथाशक्य समाधानको बाटो खोज्न आग्रह गर्दै चाँडै समास्या समाधानका लागि ठोस पहल हुने आशा लिएको नेतृ तामाङले बताइन् । मन्त्री मेहताले सबैतर्फको कुरा सुनी आफूले मनन गरेको र समस्या समाधानका लागि विशेष पहल गर्ने बताइन् । कार्यक्रममा उपकुलपति डा. श्रेष्ठले मन्त्रीलाई प्रतिष्ठानको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन प्रदान गरेका थिए ।
मन्त्री मेहताले धरान नगर अस्पताल निर्माणका सम्बन्धमा स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरुद्वारा गठित समितिका सदस्यहरुसँग उपकुलपति कार्यालयको बैठक कक्षमा केहीबेर छलफल समेत गरेकी थिइन् । उनले बिरामी तथा चिकित्सकहरुसँग इमर्जेन्सीमा भइरहेको उपचार सेवा बारे संवाद गरेको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिए ।