धरानः धरान उपमहानगरपालिकामा नयाँ सरकारले तोकेको समयमा आइपुग्दैनन् कर्मचारी ।
चैत २६ बिहीबार ९ बजे उपमहानगरपालिका प्राङ्गणमा पुग्दा फाट्टफुट्ट एक, दुईजना कर्मचारीबाहेक अन्यको उपस्थिति थिएन । गत चैत २३ गतेदेखि सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ तर धरान उपमहानगरपालिकामा यो निर्णय कार्यान्वयनमा आएको छैन ।
केहीदिनअघि धरानमा आइपुगेका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राई नै पनि साढे ९ बजे गेटबाट प्रवेश गरे । अन्य कर्मचारीहरूमध्ये केही कर्मचारी पत्रकारले फोटो खिच्दैछ भन्ने ‘सुइँको’ पाएपछि बाटैमा रोकिएको समेत पाइयो ।

९ बजे उपमहानगरपालिकामा कर्मचारी समयमा नआउँदा मुस्किलले २–३ जना कार्यालय सहयोगी मात्र थिए । कर्मचारीलाई ९ बजे अनिवार्य गरेपनि कार्यालयहरू नै खुलिसकेका थिएनन् । उपमहानगरको प्रशासन, राजश्व, लेखा, न्यायिक समिति फाँटमा १० बजे मात्रै कार्यालय आइपुग्ने एकजना नगर प्रहरीले बताए । उपमहानगरका कर्मचारी समयमा नआउँदा सेवाग्राही मारमा परेका छन् । घर नक्सा, प्राविधिक सहयोग, योजना, उपभोक्ता समिति गठन, भुक्तानी र जनप्रतिनिधिको गुनासा लिएर आउने सेवाग्राही कर्मचारी नभेट्दा मारमा परेका छन् ।
उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले समयमा कर्मचारी आए, नआएको हाजिर रेकर्ड हेरिने बताए । प्रमुख प्रशासकीय अधिकृत नै किन ढिलो भन्ने प्रश्नमा एकजना कर्मचारीले भने– उहाँ एसईई परीक्षाको अनुगमनमा पुग्नुभएको होला ।
प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले आफू आजचाहिँ समयमै कार्यालय नआइपुगेको स्वीकारे । भने, ‘अन्य बेला म एसईई परीक्षाको अनुगमनलगायतका काममा जान्थें तर आजचाहिँ तपाईले नै फोटो खिच्दै हुनुहुन्थ्यो, म केही ढिलोगरी नै आएको हुँ, अन्य बेला सरकारले लगाएको नियममा कटिबद्ध भएर लाग्नेछु ।’
नेपाल सरकारले २३ गतेदेखि लागू हुने गरी कार्यालय समय बिहान ९ः ०० देखि साँझ ५ः ०० बजेसम्म बनाएको छ । ‘सरकारको निर्णयलाई मध्यनजर गरेर सो अवधिमा समय पालना भए, नभएको, कर्मचारीले तोकिएको कार्यकक्षमा बसेर कार्यसम्पादन गरे, नगरेको, सेवाग्राहीका काम समयमा सम्बोधन भए, नभएकोबारे अनुगमन भइरहेको बताइएपनि यो धरान उपमहानगरपालिकामा लागू छैन ।

धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राई (वायाँ) र कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा