धरानः धरानमा लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १३ देवी मार्गमा घरमा लागूऔषध फेला परेपछि एकजना महिलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
लागूऔषधको कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय काले भन्ने बुद्ध राईको घर कोठामा चेकजाँच तथा खानतलासी गर्दा प्रतिबन्धित औषधी ट्रामाडोल–८५० क्याप्सुल, स्पास्पेन ७५० ट्याब्लेट र डिकोलिक १०० ट्याब्लेट गरी जम्मा १७ सय क्याप्सुल, ट्याब्लेट फेला परेको थियो ।
प्रहरी पुग्दा बुद्ध घरमा थिएनन् । प्रहरी आएको सुइँको पाएपछि उनी भागेको हुनसक्ने प्रहरीको अनुमान छ । उनकी श्रीमती २१ वर्षीय वबिता राईलाई सो लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुद्धको खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच धरानको जोरसखुवाबाट पटक पटक लागूऔषधसहित पक्राउ पर्ने क्रम बढेको छ ।
धरान उपमहानगरपालिका वडा नं.–१६ जोरसखुवामा लागूऔषधको कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागूऔषध फेला पारेको जनाएको छ ।
धरान–१६ बस्ने २० वर्षीय राहुल आचार्यको कोठामा चेकजाँच तथा खानतलासी गर्दा प्रतिबन्धित औषधि ट्रामाडोल ३१ सय क्याप्सुल र स्पास्पेन १४ हजार पचास ट्याब्लेट गरी जम्मा १७ हजार एक सय पचास क्याप्सुल, ट्याब्लेट फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । राहुल र उनको साथमा रहेका धरान–११ गोदावरी चौक बस्ने १९ वर्षीय रोहित रिजाललाई सो प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।