धरानः प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन् ।
तरमारा सुदन भनेर आलोचना खेपिरहेका उनी खम्बुवान, माओवादी हुँदै प्रलोपामा पुगेर अब हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने चर्चा छ ।
उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) सहितका दलसँग एकता गरेपछि उनले पार्टी छाडेर प्रलोपा बनाएका थिए । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले भोजपुर र सुनसरी–१ बाट किरातीको नाम सिफारिस गरेको थियो । तर, किरातीले सामाजिक सञ्जालमार्फत यसपटक चुनाव नलड्ने बताउँदै श्रम संस्कृति पार्टीलाई सहयोग गर्ने भनेका थिए । उनले श्रम संस्कृतिले तीन ठाउँमा चुनाव जितेपछि आफूले नसघाएको भए कुनैपनि ठाउँमा चुनाव नजित्ने भन्दै अभिव्यक्ति समेत दिएका थिए । चुनाव प्रचारमा खटिएकै बेला कोशी प्रदेशमा हर्कको पक्षमा जनलहर देखेपछि सुदनले श्रम संस्कृतिमा राजनीतिक भविष्य देखेको निकटस्थहरू बताउँछन् ।
किराती अहिले साम्पाङसँग सहकार्यतर्फ अग्रसर भएको बुझिएको छ । यता, श्रमसंस्कृति पार्टीका प्रवक्ता सत्य घले गुरुङले पहिला नै पनि उहाँसँग दोहोरो कुराकानी भएको र पार्टीमा ल्याउन पहल भइरहेको बताए । उनले प्रदेश १ को मुख्यमन्त्रीमा उनको नाम जोडिएको बताए । अध्यक्ष साम्पाङसहितका नेताहरूसँग उनको निर्णायक छलफल भइरहेको पनि उनले जानकारी दिए । ‘साम्पाङले सुदनलाई पार्टीको वरिष्ठ नेता बनाउने वचन दिइसकेका छन्’, श्रम संस्कृतिका नेताहरूले बताएका छन् ।
सम्भवतः केही दिनमै यसबारे निर्णय हुने श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले जानकारी दिए । नेताहरूका अनुसार सुदन एक्लै भन्दा पनि एउटा समूह नै लिएर श्रम संस्कृतिमा प्रवेश गर्ने सम्भावना छ । सुदनले भने आफूले निर्णय गरिनसकेको बताए । तथापि, अबको राजनीति श्रम संस्कृतिबाटै हुने संकेत गरेका छन् ।
प्रतिनिधि सभाको सुनसरी २, भोजपुर र खोटाङमा प्रत्यक्षतर्फ जितेको श्रम संस्कृतिले समानुपातिकमा पनि ३ लाख मत कटाएको छ । ७ सांसद रहेको श्रमसंस्कृति पार्टीले कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई टक्कर दिएको थियो ।
सुदनलाई ल्याउन पार्टीले रास्वपाकै शैलीमा वरिष्ठ नेता राख्ने भएको छ । सुदनलाई भित्रयाउनुका पछाडि श्रम संस्कृतिको नजर भने स्थानीय र प्रदेश सभाको चुनावमा देखिन्छ । किरातीलाई कोशी प्रदेशको मुख्यमन्त्री प्रस्ताव गरेर जान पनि साम्पाङ तयार छन् । महासचिव आरेन राईले भने त्यसबारे निष्कर्षमा नपुगिएको दाबी गरे ।