धरानः धरानमा बसबाट झर्ने क्रममा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
धरान–४ देवीथानस्थित कोशी लोकमार्गमा धरानबाट धनकुटातर्फ जाँदै गरेको को१ख ६०९० नम्बरको बसबाट झर्ने क्रममा बसको ठक्कर मृत्यु भएको अस्थायी प्रहरी चौकी अमरहाटका प्रहरी सहायक निरीक्षक मनोजकुमार बलले जानकारी दिए ।
मृत्यु हुनेमा धरान–४ का ७८ वर्षीय प्रेमबहादुर मगर रहेको प्रहरीले जनाएको छ । बस रोकी बसबाट ओर्लेर बाहिर जाने क्रममा बस अगाडि बढाउँदा बसको पछाडिको बायाँ भागमा ठोक्किएका उनी बेहोस बनेका थिए । तत्काल उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र उपचारका क्रममा सोमबार साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको बाहिरी चोटपटक भने केही थिएन ।
शव अस्पतालमै रहेको छ । बस र बस चालक भोजपुर हतुवागढी गाउँपालिका–१ घोरेटार बस्ने ३७ वर्षीय गोविन्द बस्नेत इलाका प्रहरी कार्यालय धरानको नियन्त्रण रहेको डिएसपी भीषणबाबु राईले जानकारी दिए । चालकले सडकमा ध्यान नदिएको (चालकको लारवाही) का कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।
यस्तै, सुनसरीको इटहरी–५ कलंकी नजिकैस्थित पूर्व–पश्चिम लोकमार्गमा निर्माणाधीन डाइभर्सनमा पश्चिमबाट इटहरीतर्फ आउँदै गरेको को२२प ४५८९ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
स्कुटर चालक भोक्राहा नरसिङ–६ बस्ने ३५ वर्षीय राजविरेनकुमार उराउको टाउकोमा चोट लागेपछि उनलाई उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।