धरानः धरानमा अनलाइन जुवा खेल्ने र खेलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार पक्राउ पर्नेमा धरान–१६ का ४१ वर्षीय अशोक लिम्बू, धरान–१५ का ३५ वर्षीय भवानी दाहाल, धरान–१३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बू, २९ वर्षीय मिलन लिम्बू, ३१ वर्षीय सुशान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, ३३ वर्षीय सुजित साह रहेका छन् ।
आइतबार राति धरान–१३ स्थित लक्ष्मी सडकको मण्डला क्याफेमा अनलाइन जुवा सञ्चालन भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले छापा मारेको थियो । प्रहरीले घटनास्थलबाट विभिन्न कम्पनीका १५ थान मोबाइल बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको डीएसपी राईले बताए ।