धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा–१० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट र ऐतिहासिक नतिजासहित शतप्रतिशत उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । अभिभावकको उपस्थितिमा अभिभावकसहित उनीहरूलाई सम्मान गरिएको हो ।
केही दिनअघि प्रकाशित एसईई नतिजामा ४ जीपीए ल्याएकी सेजल गुप्ता र सामुयल कोइराला (विक) सहित एसईईमा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको हो । उनीहरू दुवैजनालाई नगद एक लाखसहित सम्मान समेत गरिने भएको छ । ‘केहीदिनपछि कार्यक्रम राखी उनीहरू दुवैजनालाई नगद एक लाखसहित सम्मान गरिनेछ’, संस्थापक अध्यक्ष वेनिन्द्र कटवालले भने, ‘यसले उनीहरुको मनोबल उच्च बन्नुका साथै थप लगनशील बन्न यस्तो निर्णयले थप उर्जा मिल्छ भन्ने विश्वास लिइएको छ ।’
संस्थापक अध्यक्ष कटवाल, प्रिन्सिपल निलमकुमार श्रेष्ठ र अध्यापकहरूलाई अभिभावकले समेत सम्मान गरेका थिए । अघिल्लो वर्ष पनि विष्णुका विद्यार्र्थीले इतिहासमै ४ जीपीए ल्याउँदै दुर्लभ नतिजा ल्याएका थिए ।
१२० जना परीक्षार्थी सामेल भएको यस विद्यालयबाट ३.६१–४.०० जीपीए (ए प्लस) सहित ६१ जना, ३.२१–३.६० जीपीए (ए) सहित ५० जना र २.८१–३.२ जीपीए (बि प्लस) सहित ७ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । ‘हामीले यसपटक पनि सर्वोत्कृष्ट एवम् ऐतिहासिक नतिजा प्राप्त गर्न सफल भयौं, दुईजना छात्रछात्राले ४ जीपीए नतिजा निकाल्न सफल भए, हामीले सोचेभन्दा पनि राम्रो नतिजा आएको हामीले महसुस गरेका छौं ।’ उनले भने ।
२०५९ सालदेखि एसएलसी हुँदै एसईईसम्म आइपुग्दा यस क्षेत्रमै लगातार तीन वर्ष सर्वोत्कृष्ट जीपीए ४ प्राप्त गर्न सफल भएको संस्थापक अध्यक्ष कट्वाल बताउँछन् । कार्यक्रममा बोल्दै उनले दक्ष शिक्षक–शिक्षिकाको समर्पण, परिश्रमी विद्यार्थी र अभिभावकको सहयोगले सर्वोत्कृष्ट नतिजा निकाल्न सम्भव भएको समेत बताए ।
