Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी प्रीति अग्रवालले मारवाडी समुदायबाट सगरमाथा चढेर इतिहास रचिन्

हाम्रो कोशी आवाज
जेष्ठ १६ २०८३, शनिबार
धरानकी प्रीति अग्रवालले मारवाडी समुदायबाट सगरमाथा चढेर इतिहास रचिन्

धरानः
प्रिती रतेरिया अग्रवालले विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर)को सफलतापूर्वक आरोहण गरी मारवाडी समुदायबाट नयाँ इतिहास रचेकी छन्।
धरान स्थायी घर भई हाल काठमाडौँलाई आफ्नो कर्मथलो बनाउँदै आएकी प्रीति नेपालको इतिहासमै सगरमाथाको शिखर चुम्ने पहिलो मारवाडी महिला बनेकी छन् ।
अदम्य साहस र दृढ इच्छाशक्तिका साथ उनले संसारकै सबैभन्दा अग्लो हिमालको चुचुरोमा पाइला टेक्न सफल भएकी हुन्। यो ऐतिहासिक सफलतासँगै प्रिती मारवाडी समुदायबाट सगरमाथाको शिखर चुम्ने पहिलो महिला बनेकी छन्।
उनको यो गौरवमय उपलब्धिले मारवाडी समुदाय मात्र नभई सम्पूर्ण राष्ट्रलाई नै गर्व र सम्मानको अनुभूति गराएको मारवाडी समुदायका अग्रजहरूले प्रतिक्रिया दिएका छन्। समाजमा एउटा फरक पहिचान र प्रेरणाको नयाँ अध्याय थप्दै उनले चुनौतीहरूलाई अवसरमा बदल्न सकिन्छ भन्ने प्रमाणित गरेकी छन्।
प्रितीको यो असाधारण साहस, दृढ संकल्प र अथक परिश्रम आजको सम्पूर्ण युवापुस्ताका लागि एउटा बलियो प्रेरणाको स्रोत बनेको छ।
नेपालको पर्वतारोहण इतिहासमा अंकित भएको प्रीतिको यो नाम र सगरमाथाको शिखरमा फहराएको सफलताको झण्डा आगामी पुस्ताका लागि सधैँ एउटा दीप जस्तै बलिरहने विश्वास लिइएको छ ।
विश्वभरकै मारवाडी समाजमा दोस्रो महिलाको कीर्तिमान
पर्वतारोहण सम्बन्धी उपलब्ध ऐतिहासिक रेकर्ड र विवरणहरूका अनुसार, प्रीति अग्रवाल सम्भवतः विश्वभरकै मारवाडी समाजबाट सगरमाथा आरोहण गर्ने दोस्रो अग्रवाल-मारवाडी महिला बन्न सफल भएकी छन् । नेपालको राष्ट्रिय इतिहासको सन्दर्भमा भने मारवाडी समुदायबाट सगरमाथाको सर्वोच्च शिखरमा पाइला टेक्ने उनी सर्वप्रथम् महिला हुन् ।
व्यापार-व्यवसाय र सामाजिक क्षेत्रमा बढी केन्द्रित रहने मारवाडी समुदायबाट साहसिक खेल तथा पर्वतारोहणको यस्तो कठिन विधामा महिलाले हासिल गरेको यो अभूतपूर्व उपलब्धिलाई अहिले बहुआयामिक दृष्टिकोणले हेरिएको छ । समाजका बौद्धिक वर्ग र अभियन्ताहरूले यस विजयलाई केवल एउटा आरोहण मात्र नभनेर “हौसलाको उडानको अर्को नाम” का रूपमा ब्याख्या गरेका छन् ।
सगरमाथाको कठिन भूगोल, प्रतिकूल मौसम र अक्सिजनको कमी जस्ता ज्यानकै जोखिम हुने चुनौतीहरूलाई सफलतापूर्वक पार गर्दै प्रीतिले दृढ इच्छाशक्ति र साहस भएमा महिलाहरूले जुनसुकै शिखर पनि हासिल गर्न सक्छन् भन्ने जीवन्त उदाहरण पेश गरेकी छन् । उनको यो उपलब्धि आगामी दिनमा अन्य थुप्रै महिलाहरूका लागि सपना देख्ने र त्यसलाई साकार पार्ने बलियो प्रेरणा, साहस र आत्मविश्वासको अनुपम मार्गदर्शक बन्ने निश्चित छ ।

प्रकाशित मिति: जेष्ठ १६ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend