धरानः सरकारले आगामी आर्थिक वर्षमा १० वटा रंगशालामा फ्लड लाइट जोड्ने घोषणासँगै धरानबासीले पनि बजेटको आशा गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै फुटबलका आठ हजार दर्शक क्षमताका मैदानमा १० वटा फ्लड लाइट जोड्ने घोषणा गरेका थिए ।
यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि धरानको रंगशालाका लागि बजेट विनियोजन गर्ने आश्वासन दिएपनि हालसम्म त्यो कार्यान्वयन हुन नसकेकोमा आक्रोश पोख्दै एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले भने, ‘बुढासुब्बा गोल्डकपको फाइनल खेलको उद्घाटन कार्यक्रममा बोल्दै फ्लड लाइट र स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्छु भन्ने कोशी प्रदेश सरकार हरायो, आश्वासन मात्रै पाइयो, प्रतिबद्धता कहिल्यै पूरा भएन ।’
धरान खेलकुदको सहर भएको बताउँदै बालेन सरकारले १० वटा रंगशालामा फ्लड लाइट जोड्ने घोषणा गरिसकेको बताए । राईले धरानमा रात्रीकालीन फुटबल खेलको लागि रंगशालामा फ्लड लाइट लगाउने पहल सरकारबाट गरिने बताए । उनले यसपटक एकसाथ स्थानीय, प्रदेश र केन्द्र सरकारको गुहार माग्ने तर सरकारले बेवास्ता गरे आन्दोलनमा होमिने चेतावनी दिए । ‘सरकारको योजना १ नम्बरमा धरान पर्नुपर्छ’, उनले चेतावनी दिए, ‘त्यो भएन १० औं गाडी मान्छे लिएर आउनेछौं ।’
उनले धरान रंगशाला कोशी प्रदेशकै उत्कृष्ट रंगशाला भएपनि कुनै तहको सरकारले हालसम्म सहयोग नगरेको उनको गुनासो थियो । फुटबल संसारको एकदमै लोकप्रिय खेल रहेको तर नेपाल सरकारले फुटबललाई सम्बोधन गर्न नसकेको गुनासो उनको थियो । उनले कोशी प्रदेशमा फुटबल खेललाई रोजगारीमुखी र व्यावसायिक बनाउँदै खेल क्षेत्रको विकासमा आफू अहोरात्र लागि पर्ने बताए । अध्यक्ष राईले फुटबल संघमा राजनीति गर्न नहुने समेत बताए ।
सरकारले आगामी आर्थिक वर्षको लागि ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसैबीच चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३’ को उपाधि पूर्वेली भेट्रान बिर्तामोडले जितेको छ । फाइनल खेलमा आयोजक हाम्रो धरान भेट्रानलाई १–० गोलले पराजित गर्दै पूर्वेलीले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको ९ औं मिनेटमा भुपेन लिम्बूले गोल गरेका थिए । उपाधिसँगै पूर्वेली भेट्रानले नगद १ लाख १ हजार ५ रुपैयाँ जित्यो भने उपविजेता हाम्रो धरान भेट्रानले ५५ हजार ५ रुपैयाँ पायो । फाइनल खेलको म्यान अफ द म्याच पूर्वेलीका प्रेम तामाङ घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । व्यक्तिगत विधातर्फ पनि पूर्वेली भेट्रानकै दबदबा रह्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भुपेन लिम्बू घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै, उत्कृष्ट गोलकिपर रूपक गुरुङ, उत्कृष्ट डिफेन्डर सन्तोष बस्नेत, उत्कृष्ट मिडफिल्डर सन्तोष राई र उत्कृष्ट प्रशिक्षक राहुल खड्का घोषित भए । उत्कृष्ट स्ट्राइकरको पुरस्कार आयोजक हाम्रो धरानका जीवन लिम्बूले प्राप्त गर्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पदम राईलाई प्रदान गरियो । सबै विधाका विजेताले जनही ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।