धरानः धरान–९ स्थित विष्णु मेमोरियल स्कुलमा मतदान सम्पन्न भएको छ । स्कुलमा शुक्रबार आवधिक निर्वाचन प्रणालीको अभ्यास गरिएको हो ।
जुनियर युवा रेडक्रस सर्कलको नयाँ पदाधिकारी र क्याप्टेन र सहायक क्याप्टेन चुन्न एकसाथ मतदान कार्यक्रम आयोजना भएको हो । निर्वाचनको मतगणना सकिएपछि सोमबार निर्वाचनको नतिजा आउने प्रमुख निर्वाचन आयुक्त भवानीप्रसाद खतिवडाले जानकारी दिए । विद्यार्थीहरूले किताब, कलम, झोला र क्यालकुलेटर चुनाव चिहन लिएर चुनाव लडेका थिए ।
निर्वाचनको महत्व, चरण, मतदाता शिक्षा, प्रक्रिया साथै सामाजिक शिक्षाको पाठ पनि विद्यार्थीले सिक्न पाएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । ‘हामीले सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान पनि प्रदान गर्ने उद्देश्यले निर्वाचन गरिएको हो’, उनले भने, ‘विद्यार्थीले रियल निर्वाचन भएजस्तै महसुस गरेका छन्, यसले भविष्यमा निर्वाचनमा सहभागिता जनाउन पनि सहजता हुनेछ भन्ने विश्वास लिएका छौं ।’
कक्षा ६ देखि १० सम्मका करिब ७०० जना विद्यार्थीले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएको प्रमुख निर्वाचन आयुक्त खतिवडाले जानकारी दिए । माध्यमिक तहका विद्यार्थीहरूको पुस्तकमा रहेको सैद्धान्तिक पढाइलाई प्रयोगद्वारा नै सिकाइएको माध्यमिक तहका अध्यापक हेमन्तमणि दाहालले जानकारी दिए । निर्वाचन प्रणालीमा गरिने सम्पूर्ण प्रक्रिया पूरा गरेर विद्यार्थीलाई अभ्यास गराइएको उनले जानकारी दिए । निर्वाचनमा मुख्य निर्वाचन अधिकृतबाहेक अन्य दुई जना शिक्षकलाई समेत निर्वाचन अधिकृत तोकिएको थियो ।
निर्वाचनमा मतदाताको अन्तिम नामावली प्रकाशन, कार्य योजना सहित उम्मेदवारहरूको छनौट, मनोनयन दर्ता, दाबी विरोध, उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, निर्वाचनमा क्रममा प्रचार प्रसार तथा मौन अवधि, निर्वाचनमा पालना गर्नुपर्ने आचार संहिता जस्ता विषयहरू अभ्यासमा सिकाइएको उनले जानकारी दिए । उनका अनुसार निर्वाचन अवधिभर बुथ तथा निर्वाचनस्थलको सुरक्षा स्काउट विद्यार्थीहरूले गरेका थिए । निर्वाचनबाट कक्षा ८, ९ र १० का विद्यार्थीहरूले एक जना स्कुल क्याप्टेन र एक जना भाइस क्याप्टेन निर्वाचित गर्नेछन् भने कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूबाट रेडक्रस सर्कलको नयाँ कार्य समिति निर्वाचित हुनेछन् ।
विद्यालयमा यस प्रकारको अभ्यासले विद्यार्थीमा निर्वाचन प्रणालीको व्यावहारिक ज्ञान र भविष्यमा निष्पक्ष मतदानमा सहयोग पुग्ने प्रिन्सिपल श्रेष्ठको दाबी छ ।














































