धरानः धरान-१६ स्थित भगवती स्कुल छेऊबाट प्रहरीले लागूऔषधसहित दुईजना पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी जोरसखुवा धरानबाट खटिएको प्रहरी टोलीले पैदलयात्री धरान–१ बस्ने ३३ वर्षीय सञ्जयकुमार सिंह र २७ वर्षीय त्रिवेणी बज्राचार्यलाई चेकजाँच गर्दा लागूऔषध फेला परेको थियो ।
बज्रचार्यले बोकेको झोलाभित्रबाट लागूऔषध ट्रामाडोल ५ सय ४० क्याप्सुल र डिकोलिक ४ सय ७० क्याप्सुल गरी जम्मा १० हजार १० क्याप्सुल फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ८ फूलबारी टोलस्थित लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले २१ वर्षीय सविन धिमालको घर कोठा खानतलासी तथा चेकजाँच ब्राउन सुगर भेटिएको छ ।
कोठाबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.२३ ग्राम, नगद रु.२५ हजार ७ सय ४० र मोबाइल फोन ३ वटा समेत फेला परेको प्रहरीले जनाएको छ । उनीहरुसँगै सविन धिमाल र सोही कोठामा रहेका इटहरी–१४ बस्ने २९ वर्षीय मुकेश चौधरीलाई लागूऔषध र नगद सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
