धरानः लापरबाही तरिकाले मोटरसाइकल हाँकेका सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) लाई कारबाही गरेको छ ।
उनलाई सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ (१) ङ. १८ बमोजिम लापरवाही गर्न नहुने कसुरमा जरिवाना गरेको प्रहरीले जनाएको छ । ट्राफिक नियमअनुसार लापरवाही तरिकाले सवारी चलाए ५ सयदेखि २ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । यसअघि सुनसरी १ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका बेला भोट माग्दै जाने क्रममा बालबालिका प्रयोग गरेको भन्दै निर्वाचन कार्यालयले उनलाई २० हजार जरिवाना गरेको थियो । साम्पाङको यस्तो भिडियो सार्वजनिक भएपछि प्रहरी इङगित ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्दै चौतर्फी विरोध हुन थालेको थियो ।
सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा उनलाई आवश्यक कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।
‘सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ’, प्रहरीले भनेको छ ।
साथै, यस्ता ट्राफिक नियमविपरीत गतिविधि नगर्न नगराउन सम्पूर्ण चालक, सहचालक तथा यात्रुलाई सचेत र जिम्मेवार बन्न प्रहरीले आग्रह गरेको छ ।
मोबाइलले भिडिओ खिच्दै बाइक चलाएको देखिएपछि ट्राफिक प्रहरीले उनलाई लापरबाही साथ सवारी चलाएको कसुरमा जरिवाना गरेको हो । राईले सामाजिक सञ्जालमा भिडिओमा राखेपछि उनलाई कारबाही गर्नुपर्ने भन्दै माग भएको थियो। एक हातले सवारी चलाउँदा उनी दुर्घटनामा समेत परेका थिए ।
जेठ २२ गते उदयरपुलको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी भएर उनी धरानतर्फ फर्किरहेका थिए । दुर्घटना परेर हातमा चोट लागेको भिडियो उनैले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
यता, नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले भने साम्पाङको कारबाही प्रक्रिया नरोकिने बताएका थिए ।