धरानः सुनसरीको बराहक्षेत्रमा एक महिलाको सुनको सिक्री लुटिएको छ ।
बराहक्षेत्र–७, चोक ३२ आरडीमा शनिबार राति एक महिलामाथि अज्ञात समूहले आक्रमण गर्दै सुन लुटेको स्थानीयबासीले बताएका छन् । बराहक्षेत्र–७ की कल्पना कटुवाललाई अज्ञात समूहले नियन्त्रणमा लिई बेहोस बनाएर गहना लुटेको हो ।
मुख थुनेर अर्धबेहोस बनाउँदै सुन लुटेर लगेको पीडित कल्पनाले बताएकी छिन् । कानमा लगाएको ‘आठानी’ र घाँटीमा भएको सुनको सिक्रीसहित करिब १ तोला बराबरको सुनका गहना लगेको उनले जानकारी दिइन् ।
कल्पनाले राति करिब ३ बजे मात्र होसमा आएको बताइन् । होस खुलेलगत्तै उनले चिच्याएर छिमेकीहरूसँग गुहार मागेपछि मात्रै घटनाबारे गाउँलेले थाहा पाएका थिए । लगत्तै छिमेकीहरूले उनको उद्धार गरेका थिए ।
अज्ञात समूहको आक्रमणबाट घाइते भएकी कल्पना कटुवालको अहिले स्थानीय नगर अस्पतालमा उपचार भइरहेको माधव सुवेदीले जानकारी दिए । घटनाको जानकारी प्रहरीलाई दिइसकिएको पनि उनले जानकारी दिएकी छिन् ।