धरानः धरानमा अध्ययनरत दुईजना विद्यार्थीले नगद १ लाख र ७५ हजारसहित सरकारको तर्फबाट सम्मान पाएका छन् ।
१६ औं राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगिता २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै धरानस्थित युएन नवोदय कलेज धरानका विद्यार्थीहरूले अब्बलता सावित गरेका हुन् ।
कोशी प्रदेशको प्रतिनिधित्व गर्दै तेक्वान्दो विधामा छात्रा पुम्से विधामा स्वर्णपदक जितेकी युएन नवोदय कलेजकी विद्यार्थी युमी राईलाई कोशी प्रदेश सरकारले नगद १ लाखसहित सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वर, काठमाडौंको आयोजनामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी राईलाई सामाजिक विकास मन्त्रालय तथा प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले सम्मानपत्र समेत प्रदान गरेको हो ।
त्यसैगरी, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कराते विधामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल दोस्रो स्थान हासिल गर्न सफल युएन नवोदय कलेज कक्षा–११ कम्प्युटर विज्ञान सङकाया विद्यार्थी प्रमोद राईलाई पनि कोशी प्रदेश सरकारले नगद रु. ७५ हजारसहित सम्मान गरेको छ ।
खेलकुद क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गरेको भन्दै मंगलबार कलेजले पनि सम्मान कार्यक्रम आयोजना गरेको छ । कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ लगायतले दुवैजनालाई अभिभावकको उपस्थितिमा सम्मान गरेका थिए ।
अध्ययनसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत युएन नवोदयका विद्यार्थीहरूले निरन्तर सफलता हासिल गर्दै आएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो बताउँछन् । यसअघि होटल म्यानेजमेन्टतर्फका विद्यार्थी करुणा राईले ३.९६ जिपिए र स्मारीका श्रेष्ठले ३.९२ जिपिए हासिल गर्दै राष्ट्रियस्तरमा दोस्रो र तेस्रो स्थान प्राप्त गरेको पनि कार्यक्रममा जानकारी दिइयो । विद्यार्थीहरूको शैक्षिक तथा खेलकुद क्षेत्रमा देखिएको उत्कृष्ट उपलब्धिले युएन नवोदय कलेज कोशी प्रदेशमै अब्बल शैक्षिक संस्थाको रूपमा स्थापित हुँदै गएको कलेजले जनाएको छ ।




















