धरानः
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्यागको घोषणा गरेकी गोमा तामाङ (सरिन) लाई पनि पार्टीले महाधिवेशनको व्यवस्थापन उपसमितिमा राखेको छ ।
महाधिवेशन सम्पन्न गर्नका लागि रास्वपाले १८ वटा उपसमिति बनाएको छ । कोशीको सभापतिमा पराजित भएपछि रास्वपा परित्याग गरेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेकी थिइन् ।
उनै तामाङलाई ‘महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति’ को सदस्यमा राखिएको हो । उक्त उपसमितिको संयोजकमा कोषाध्यक्ष लिमा अधिकारी छन् ।
कोशीको सभापतिमा चन्द्र राई निर्वाचित भएका थिए ।
त्यसपछि ‘आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ भनी तामाङले सामाजिक सञ्जालमा लेखेकी थिइन् । साथै, आफूलाई हराउन सांसदहरू पनि लागेको उनको गुनासो थियो ।
उनले सामाजिक सञ्जालमा सांसदप्रति आक्रोश व्यक्त गर्दै भनेकी थिइन्, ‘आखिर माथिको ह्वीप भन्दै हराएरै छाड्यौ माननीय तृतीयज्यू र केन्द्रीय सदस्यज्यू धन्यवाद । तपाईं चौथाज्यूहरूलाई सायद अनेक सेटिङ प्यानल बनाउन जानिनँ मैले । यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर । तर यो मेरो सोझो, सिधापन आज दुखाइ भो सबैलाई । हजुरीको राजनीतिक गर्नै जानिन कमजोरी भो मेरो ।’
उनी सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि थिइन् । उनलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पराजित गरेका थिए । उनी रास्वपाको पूर्व कार्यवाहक सभापति पनि हुन् । पार्टीमा केही असमझदारी देखिएपछि उनलाई हर्क साम्पाङले श्रम संस्कृति पार्टीमा जोडिन आग्रह गरेका थिए । तर उनले सामाजिक सञ्जालबाटै आफू स्वतन्त्र नै बस्ने तर आफ्नो केही बानी सुधार्न सुझाएकी थिइन् ।
उनले साम्पाङले बोलाएपछि लेखेकी थिइन् ।
मान्छेहरूले हाँसी–हाँसी गला रेटेको तितो यथार्थ म सँग छ । तपाई संयम हुनुपर्छ माननिय हर्क साम्पाङ ज्यू ।
अहिले ३ सिट भएर के भो अर्को चुनावमा बहुमत वा दुई तिहाइ ल्याउन सक्नुहुन्छ । समयको खेल हो असम्भव केही छैन अहिले । किनकी जनता आजित भइसके । निकास खोजिरहेका छन् । त्यसैले त सोच्दै नसोचेकाहरु सांसद हुन सकेको छ भने आउँदा समयमा तपाईं प्रधानमन्त्री नहोला भन्न सकिन्नँ । लेखेको छ भने त्यो कुरा ढिलो चाँडो पुग्छ । हतार गर्नु हुँदैन । अहिले सञ्जालमा तपाईंलाई माया गर्नेहरू जति शुभेच्छुक हुनुहुन्छ । सबै बाध्यताबश बिरोधमा उत्रिन बाध्य भएको स्पष्ट देखिन्छ । त्यो रहर होइन उहाँहरूको देश बनाउनु छ बन्नुपर्छ भन्ने झिनो आशमा तपाईंको पनि सहयोग अहिलेको सरकारलाई भइदिए अझै राम्रो हुन्थ्यो कि भन्ने आशा छ त्यो आशाविरुद्ध तपाईं नगइदिनुहोला ।
अन्त्यमा सुनसरी १ ले अहिलेसम्म नेता नेतृत्व अभिभावक पाउनै सकेको छैन । यहाँ जनताको अभाव आवश्यक समस्याको चाङ धेरै छ । ती समस्या समाधानको निमित्त पहल गर्नुहोला । सुनसरी १ ले मात्र होइन सिंगो कोशीले आशा बोकेको देखेको छ तपाईंप्रति । मेरो अनुरोध छ तपाईं युवाहरू मिलेर अघि बढ्नुस्, जुन दिन तपाईं बदलिनु हुनेछ सारा आम जनताहरूले तपाईंको उग्रतामा सुधारक देखिनेछ सोही समयमा मेरो साथ सहयोग रहनेछ ।
किनकी राजनीतिक सेवा भनेको जनसेवा हो मेरो वापसी त्यो बेला हुनसक्छ । समयले साथ दिए तपाईंको परिवर्तन स्वभावपछि एकैनाउँमा एकैगाडीको सिटमा हामी हुनसक्छौं । तपाईंले मप्रतिको चिन्तन चासो फोन कलको निमित्त हार्दिक धन्यवाद ब्यक्त गर्दै अहिलेलाई म स्वतन्त्र बस्न चाहन्छु । बोल्न लेख्न नपाएको कुराहरू स्वतन्त्र भएर लेख्न चाहन्छु । बस तपाईंको परिवर्तित स्वभावको पर्खाइमा शरिन अहिलेलाई यतिमात्र ।