धरानः नेपाली कांग्रेस परित्याग गरेका धरानका शिवराज श्रेष्ठ पुनः नेपाली कांग्रेसमै फर्केमा छन् । केही वर्षअघि नेपाली कांग्रेस त्याग गरी नेकपा एमाले प्रवेश गरेका उनी पुनः नेपाली कांग्रेसमै फर्केका हुन् । कांग्रेसमा लामो समय विभिन्न जिम्मेवारीहरु वहन गरेका उनी केही वर्ष अघि नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए । नेकपा एमालेमा रहंदा उनले नगर कार्यसमितिको आर्थिक संयोजकको जिम्मेवारी वहन गरेका थिए ।
नेपाली कांग्रेसमा पुनः प्रवेश गर्दै पार्टी सभापति गगन थापाप्रति भरोसा जागेकाले अब बाचिन्जेल कांग्रेस नछाड्ने समेत उनले बताए । आफूलाई पार्टीमा पुनः फर्किन निरन्तर प्रोत्साहन गरेको भन्दै नेता चन्द्रप्रसाद श्रेष्ठ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, नगर उपसभापति प्रविन राईलगायतका नेताहरुले उनलाई स्वागत गरेका थिए । उनले अब पार्टीमा जिम्मेवारी बहन गर्ने गरी सक्रिय रहने समेत बताएका छन् ।
कांग्रेसमा रहँदा राजनीतिक एवम् सामाजिक उच्च छवि बनाएका उनलाई नेपाली कांग्रेसका नेता पूर्व सांसद चन्द्रप्रसाद श्रेष्ठले टिका र खदा लगाएर पार्टी प्रवेश गराएका थिए । सो अवसरमा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य सन्तोष विक, जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, जिल्ला सदस्यद्वय चन्द्र नेपाल र निर्मला नेपाल, संसदीय दल धरानका नेता एवम् नगर उपसभापति नरेन्द्र कुमार राई (प्रविन), महाधिवेशन प्रतिनिधिहरु चन्द्रशेखर लामा, ललिता अधिकारी शर्मा, निलकुमारी गिरी थापा, रवि राई र राजु शाह, नेपाल महिला संघ केन्द्रीय सदस्य कुशुम ओली, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सदस्यहरू दिनेश श्रेष्ठ, भवानी ओझा, सुमन श्रेष्ठ (तखाँछे) र शिखा चेम्जोङ, प्रदेशसभा १(१) सचिव युवराज शंकर, प्रदेशसभा १ (१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, प्रदेशसभा १ (१) सहसचिव हरि ओझा, नगर सहसचिव शिला बज्रचार्य, वडा सभापति रुपेश आचार्य, नेविसंघ पूर्व केन्द्रीय सदस्य सागर प्रसाईं लगायतको उपस्थिति रहेको थियो ।
