धरानः राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा-१२ को नतिजामा धरान-९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थीहरु शत प्रतिशत उत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी भएका १२२ जना विद्यार्थीहरू धरान उपमहानगरमै सर्वोत्कृष्ट ३.९२ जीपीएसहित उत्तीर्ण भएका छन् । ३.९२ जीपीएसहित २९ जना, जीपीए ३.२१–३.६० सहित ८१ जना, जीपीए २.८१–३.२० सहित ११ जना र जीपीए २.४१–२.८० १ जनासहित शत प्रतिशत (१०० प्रतिशत) उत्तीर्ण भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए ।
संस्थापक अध्यक्ष वेनिन्द कटवालका अनुसार विज्ञान सङकायमा ८४ जना सहभागी भएकोमा १९ जना ए प्लस, ५७ जना ए र ८ जना बी प्लस मा उत्तीर्ण भएका छन् । यस्तै, म्यानेजमेण्टतर्फ ३८ जना सहभागी भएकामध्ये १० जना ए प्लस, २४ जना ए, ३ जना बी प्लस र १ जना बी सहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उनले शिक्षक, अभिभावक तथा निरन्तर विद्यार्थीको अनुशासनसहित मिहिनेतका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए ।
२०६५ सालदेखि उच्च माध्यमिक तहसम्मको पढाइ सञ्चालन भइरहेको बताउँदै उनले धरानमा नाम चलेको र देशभरीका स्कुलमध्ये टप २० सम्ममा पर्न सफल विष्णुले यसअघि पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावक, विद्यार्थीको मन जित्दै आएको बताए ।
यसैबीच विद्यालयको कक्षा–११ मा भर्ना भएका विद्यार्थीहरूको विद्यालयको सभाहलमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विशेष अतिथिका रुपमा यसै विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा–१२ सम्म अध्ययन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्ति (१०० प्रतिशत) प्राप्त गरी अध्ययन पूरा गरेका तथा हालै सोही प्रतिष्ठानबाट एमएस अर्थोपेडिकसमेत उत्तीर्ण गरेका पूर्व विद्यार्थी डा. अंकित श्रेष्ठ रहेका थिए ।
सो अवसरमा विद्यालयको तर्फबाट विशेष अतिथिलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । सोही अवसरमा हिसान सुनसरीद्वारा सञ्चालित कक्षा–११ को वार्षिक परीक्षामा जीपीए ४.० प्राप्त गर्ने विद्यार्थी सिसुहाङ राई तथा ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थीहरू अन्सुल अग्रवाल, आरसी खत्री, रोनिशा श्रेष्ठ तथा सार्थक निरौलालाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।
साथै कक्षा–१० को एसईई परीक्षामा जीपीए ४.० प्राप्त गरी यस विद्यालयमा कक्षा–११ अध्ययनका निम्ति भर्ना भएका विद्यार्थीहरु सेजल गुप्ता तथा इसान क्षेत्रीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा १०+२ कार्यक्रम संयोजक नवीन शाक्य, विशेष अतिथि डा. अंकित श्रेष्ठ, कक्षा–११ मा जीपीए ४.० प्राप्त गर्ने विद्यार्थी शिशुहाङ राई तथा विद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठद्वारा भर्ना भएका विद्यार्थीहरूलाई ११ र १२ का विषय तथा अध्ययन क्षेत्र, अनुशासन तथा यस विद्यालयका अन्य विविध पक्षहरूबारे आवश्यक जानकारीमूलक मन्तव्य व्यक्त गरिएको थियो । कक्षा–१२ का विद्यार्थीहरूले सो अवसरमा सुन्दर स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

