धरानः हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा सहभागी नहुने भएको छ ।
अध्यक्ष साम्पाङले नै यसअघि नै महाधिवेशनमा उपस्थित नहुने आफ्नै आधिकारिक मानिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिइसकेका छन् । साम्पाङले रास्वपा सभापति रवि लामिछानेलाई एक पत्र दिँदै सीमाबारे पार्टीका धारणा सोधेको र जवाफ नआएकोले जान नसकिएको प्रतिक्रिया समेत दिँदै आएका छन् ।
साम्पाङले महाधिवेशनमा प्रतिनिधि पनि नपठाउने जनाएका छन् । रास्वपाले आफ्नो महाधिवेशनमा सहभागी भई शुभकामना दिनका लागि निम्तो दिएको थियो ।
संसदमा रहेका हरेक राजनीतिक दललाई रास्वपाले निम्तो दिएपनि श्रम संस्कृति पार्टी मात्रै सहभागी नहुने भएको हो । अन्य पार्टीबाट भने प्रतिनिधिको रुपमा नेताहरु सहभागी हुन भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपाबाट वर्षमान पुन महाधिवेशनमा पुग्ने कार्यक्रम छ ।
विभिन्न नेताहरु रास्वपा महाधिवेशनमा पुग्दा साम्पाङले सामान्य राजनीतिक संस्कार शिष्टाचार देखाउन सकेनन् । कतिपयले साम्पाङलाई राजनीतिक संस्कार नभएको समेत भनेर टिप्पणी गर्दै आएका छन् । सामाजिक सन्जालमा कतिपयले साम्पाङ र साम्पाङको पार्टी नै राजनीतिक संस्कार नभएको पार्टी भनेर आरोप लगाइरहेका छन् । संसद बैठक असार ११ गतेसम्मका लागि स्थगित भएपछि अहिले उनी पार्टी विस्तारका लागि गृहजिल्ला साथै अन्य जिल्लामा दौडधुप गरिरहेका छन् ।