धरानः मोफसलकै प्रतिष्ठित रियालिटी सो ‘एसईई आइडल सिजन-६’ की ‘पब्लिक च्वाइस अवार्ड’ बिजेता रुचि लिम्बूले एक उदाहरणीय र सह्रानीय सामाजिक कार्य गरेकी छिन् ।
धरानस्थित युएन कलेजमा विज्ञान संकायमा अध्ययनरत छात्रा रुचि (रुरी) लिम्बूले आफ्नो सफलतालाई उत्सवमा मात्र सीमित नराखी असहाय बालबालिकाहरूसँग बाँडेकी हुन् । अवार्ड बापत प्राप्त गरेको पुरस्कार रकमलाई उनले धरानस्थित सरस्वती बाल आश्रमका अनाथ तथा असहाय बालबालिकाको हितमा उपयोग गरेकी छिन् । आश्रममा रहेका २८ जना बालबालिकाहरूलाई उनीहरूको उज्ज्वल भविष्य र पठनपाठनमा टेवा पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेकी हुन् ।
शैक्षिक सामग्री वितरणसँगै रुचि लिम्बूले बाल आश्रमका बालबालिकालाई एउटा विशेष सरप्राइज समेत दिइन् । उनले आफ्नै निजी कृषि फार्ममा फलाएको र उत्पादन गरेको स्वादिलो तथा पोषिलो ड्रागन फल समेत आश्रमका बालबालिकालाई ख्वाएर खुशी साटेकी थिइन् । आफ्नै पसिना र मिहिनेतबाट उत्पादित फल बालबालिकालाई बाँड्न पाउँदा आफूलाई निकै आत्मसन्तुष्टि मिलेको रुचि बताउँछिन् ।
‘अवार्ड जित्नु मेरो लागि खुशीको कुरा त थियो नै, तर त्यो भन्दा ठूलो खुसी यी साना भाइबहिनीहरूको अनुहारमा मुस्कान देख्न पाउनु हो । मेरो सानो सहयोगले उनीहरूको पढाइमा थोरै भए पनि मद्दत पुग्ने आशा लिएकी छु ।’
भर्खरै विद्यालय तह पार गरेर कलेज जीवन शुरु गर्दै गरेकी एक युवा विद्यार्थीमा देखिएको यस्तो सामाजिक चेत, सेवाभाव र समाजप्रतिको उत्तरदायित्वलाई स्थानीय बुद्धिजीवी, कलेज प्रशासन तथा सर्वसाधारणले उच्च प्रशंसा गरेका छन् । कला र प्रतिभासँगै सामाजिक कार्यमा पनि उनको यो लोभलाग्दो सक्रियताले आगामी दिनमा अन्य युवाहरूलाई पनि समाजसेवामा लाग्न ठूलो प्रेरणा दिने विश्वास गरिएको छ ।
कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोका अनुसार युएन कलेज शैक्षिक सेवा सँगसँगै सामाजिक सेवामा समर्पित कलेज हो भन्ने यो अर्को उदाहरण हो, रुचीको यो कार्य सबैको लागि प्रेरणा बन्नेछ ।





