धरानः आसरा सुधार केन्द्र पानबारी धरानले ‘लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तराष्ट्रिय दिवस मनाएको छ ।
‘लागूऔषधको चुनौती चिनौंः सामाजिक समाधानको बाटो खोजौं’ भन्ने नारासहित शुक्रबार आसरा सुधार केन्द्र पानबारी धरानको सभाहलमा नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष एवं आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौंका प्रमुख संरक्षक श्रीमती नविना खत्री कार्कीको प्रमुख आथित्यता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा उपचाररत सदस्यहरुले लागूऔषध दुव्र्यसनविरुद्धमा नृत्य, गायन, कविता वाचनलगायत विविध विधामा आ–आफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए । कार्यक्रम प्रमुख अतिथिले विभिन्न सांस्कृतिक कार्यक्रम तथा कविता वाचनमा सहभागी उपचारत सदस्यहरुलाई उनीहरुले प्रदर्शन गरेको कलाको उच्च सम्मान गर्नुका साथै उत्कृष्ट हुने सदस्यहरुलाई पुरस्कृत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कार्कीले केन्द्रले समाजमा पुरयाएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्दै उपचाररत् सदस्यहरुले पुनरस्थापनापश्चात् नयाँ आशा र विश्वासका साथ परिवार र समाजको खुशीमा रमाउन दृढताका साथ अगाडि बढ्न अनुरोध गर्दै शुभकामनासहितको मन्तब्य राखेका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख एवं आसरा सुधार केन्द्रका संरक्षक प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेश प्रहरी लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ सबैको सहकार्यमा लागूऔषधविरुद्धको महाअभियान कार्यक्रम सञ्चालन गरी अगाडि बढिरहेको बताउँदै आसराकेन्द्रले दुव्र्यसनमुक्त तथा पुनःस्थापनाको क्षेत्रमा पुरयाउँदै आएको योगदानको प्रशंसा गर्दै शुभकामनासहितको मन्तव्य राखेका थिए ।
कार्यक्रममा आसरा सुधार केन्द्र पानवारीका संचालक समितिका सदस्य सरोज श्रेष्ठले आसरा सुधार केन्द्रको गतिविधि, भावी योजना तथा आ–आफ्नो धारणासहितको मन्तव्य राखेका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँल, जिल्ला प्रहरी कार्यालय सुनसरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षहरू, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरू, आसरा सुधार केन्द्र पानवारी धरानका संचालक समितिका सदस्यहरू, पत्रकार, परामर्श दाताहरुलगायत केन्द्रमा कार्यारत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।