Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरानमा करिब २५ वर्षपछि सञ्चालनमा आयो आधुनिक बसपार्क

हाम्रो कोशी आवाज
असार १३ २०८३, शनिबार
अन्ततः धरानमा करिब २५ वर्षपछि सञ्चालनमा आयो आधुनिक बसपार्क

धरानः अन्ततः धरानमा २५ वर्षपछि नयाँ स्मार्ट बसपार्क (आधुनिक बसपार्क) सञ्चालनमा आएको छ ।
धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले शनिबार एक कार्यक्रमका बीच बसपार्कको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै उनले बसपार्क जे जस्तो विवाद भएपनि सञ्चालनमा आउनु गौरवको कुरा भएको बताए । उनले अब आउने समस्यालाई क्रमशः समाधान गर्दै बसपार्क नियमित सञ्चालनमा आउने बताए । कार्यक्रममा पूर्व मेयर तिलक राई, पूर्व कार्यवाहक मेयर मञ्जु भण्डारीलगायत धरानबासीको उपस्थिति थियो ।
करिब एक बिघा सात कट्ठामा बनेको बसपार्क संघीय सरकारको ५० प्रतिशत र धरान उपमहानगरपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क बनेको हो । बिकोइ–गीताञ्जली जेभी, दुहबी सुनसरीले बसपार्क २४ करोड ८६ लाख ९ हजार १४८ रुपैयाँमा निर्माण सम्पन्न गरेर धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
बसपार्कमा भुइँतलामा करिब तीन सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसीटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट, यात्रु ओर्लने तथा चढ्ने २२ अटो रहनेछन् । भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ कोठा छन् । बसपार्कमा ३७ वटा बस, २४ कार–जीप, ७२ मोटरसाइकल र ८२ अटो पार्किङ गर्न सकिने व्यवस्था छ ।
बसपार्कबाट झापा, ताप्लेजुङ, इलाम पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, राजविराज, विराटनगर लगायत गन्तव्यमा यात्रु लिएर जान क्युमा रहने १९ वटा बस र अन्य १८ वटा बस गरी ३७ बस अट्ने क्षमता छ । यस्तै बसपार्कमा यात्रु लिएर आउने जाने २४ कार–जीजप, ७२ वटा दुईपाङ्ग्रे र ८२ वटा अटो पनि अटाउने क्षमता छ ।
धरानमा लामो समयदेखि व्यवस्थित बसपार्क नहुँदा समस्या हुँदै आएको थियो । साँघुरो बसपार्कका कारण यात्रुलाई हुने सास्ती र समस्यालाई ध्यानमा राखेर उपमहानगरपालिकाले अत्याधुनिक भवनसहित स्मार्ट बसपार्क बनाएको हो ।
२५ वर्षसम्म बसपार्क सञ्चालन नहुँदा सरकारको करोडौं रुपैयाँ लगानी र स्थानीयले दिएको निःशुल्क जग्गा उपयोगविहीन बनेको भन्दै आलोचना समेत हुने गरेको थियो । सुनसरीको दुहबीस्थित एमएस बिकोइ गीताञ्जली जेभीले पूर्वसम्झौताअनुसार ०८१ असार अन्त्यमा धरान बसपार्क निर्माण सम्पन्न गरी उपमहानगरपालिकालाई जिम्मा लगाएको थियो ।
धरान–८ स्थित रेडियो नेपालको टावर नजिक सो बसपार्क सञ्चालनमा आएको हो । तीनकुने सुन्दर बस्ती विकास आयोजनाअन्तर्गत आधुनिक बसपार्क निर्माणको अवधारणा अघि सारिएपछि तत्कालीन मन्त्रिपरिषद्को २०६२ वैशाख २० गतेको बैठकले बसपार्कसहित तीनकुने सुन्दर बस्ती विकास आयोजना स्वीकृत गरेको थियो ।
आयोजना क्षेत्रभित्र पर्ने १ सय ७ जना जग्गाधनीको १३ बिघा ६ कट्ठा १९ धुर जग्गा अधिग्रहण गरी एउटै कित्ता बनाएर काम शुरु भएपनि ३८ कट्ठा जग्गा ‘मल्टिपर्पोज एरिया’ का लागि छुट्याइएपछि विवाद शुरु भएको थियो । जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म मुद्दा पुगेको थियो । त्यो बेलाका मेयर स्व. तारा सुब्बाको पहलमा सहमति जुटाएर पछि कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले ०७५ माघ २७ मा बसपार्कको शिलान्यास गरेकी थिइन् ।
आन्तरिक विवाद र प्रशासनिक कारणले सञ्चालनमा आउन नसकेको बसपार्कबारे धरान उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकले असार १ गते उदघाटन गरेसँगै सञ्चालनमा ल्याउने गरी सर्वसम्मतले निर्णय गरेपनि १३ गतेदेखि बसपार्क सञ्चालनमा आएको हो ।
धरान उपमहानगरपालिकाले हाल भानुचोक क्षेत्रबाट सञ्चालन हुँदै आएका सार्वजनिक सवारी साधनलाई क्रमशः नयाँ बसपार्कमा स्थानान्तरण गर्ने तयारी गरेको छ । यसबाट धरानको यातायात व्यवस्थापन थप व्यवस्थित हुने, ट्राफिक चाप कम हुने तथा शहरको सौन्दर्य बढ्ने अपेक्षा गरिएको छ ।
कार्यविधिअनुसार बसपार्कभित्र सवारी पार्किङ, टिकट काउन्टर व्यवस्थापन, रुट सञ्चालन, सुरक्षा, सरसफाइ तथा हरियाली प्रवद्र्धनका कामलाई व्यवस्थित गरिनेछ । साथै प्रवेश शुल्क, पार्किङ शुल्क तथा संरचना भाडाबाट नगरको आन्तरिक राजस्वसमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: असार १३ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend