धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा–१० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।
स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा अभिभावकसहित यस वर्षको प्रकाशित एसईई नतिजामा ४ जीपीए ल्याएकी सेजल गुप्तालाई सम्मान गरेको हो । सेजलका बुबा डा. इन्द्रप्रसाद गुप्ता र आमा निताकुमारी गुप्तालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा युरेका आवासीय माध्यमिक विद्यालयबाट एसईई दिएर ४ जीपीए ल्याएको र कक्षा–११ मा विज्ञान सङ्काय अध्ययनका लागि भर्ना भएका छात्र इशान क्षत्री र कक्षा–११ को परीक्षामा स्कुलबाट विज्ञान सङ्कायमा ४ जीपीए ल्याउने शिशुहाङ राईलाई पनि सम्मान गरिएको थियो ।
संस्थापक अध्यक्ष वेनिन्द्र कटवाल, प्रिन्सिपल निलमकुमार श्रेष्ठले नगद एक लाख, अविर, खदानले उनीहरुलाई सम्मान गरेका थिए । संस्थापक अध्यक्ष कटवालले प्लस टु कोअर्डिनेटर नविन शाक्यलाई पनि सम्मान गरेका थिए । संस्थापक अध्यक्ष वेनिन्द्र कटवालले नगदसहित सम्मान गर्दा विद्यार्थीको मनोबल उच्च बन्नुका साथै थप लगनशील बन्न थप उर्जा मिल्ने विश्वास लिइएको बताए ।
छात्रा सेजलले नगदसहित सम्मान भएपछि आफूमा थप उर्जा मिलेको बताइन् । उनले भनिन्, ‘एक लाख पाएको पहिलोपल्ट हो, यसले भविष्यमा अझै राम्रो गर्ने प्रेरणा मिलेको छ ।’
विष्णुका विद्यार्थीले यस वर्षको एसईई परीक्षामा सर्वोत्कृष्ट र ऐतिहासिक नतिजा ल्याएका थिए । यस वर्षको प्रकाशित एसईई नतिजामा ४ जीपीएसहित दुईजना उत्तीर्ण भएका थिए । १२० जना परीक्षार्थी सामेल भएकोमा यस विद्यालयबाट ३.६१–४.०० जीपीए (ए प्लस) सहित ६१ जना, ३.२१–३.६० जीपीए (ए) सहित ५० जना र २.८१–३.२ जीपीए (बि प्लस) सहित ७ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । ‘हामीले यसपटक पनि सर्वोत्कृष्ट एवम् ऐतिहासिक नतिजा प्राप्त गर्न सफल भएका छौं’, उनले भने, ‘नतिजाको श्रेय मिहिनेती विद्यार्थी, लगनशील तथा कर्तव्यनिष्ट शिक्षक, सहयोग अभिभावकलाई जान्छ ।’



























