Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा भ्रष्टाचार भएको छ भन्दै अख्तियारमा थन्किएको फाइल बाहिर ल्याउन सांसदको माग

हाम्रो कोशी आवाज
असार २२ २०८३, सोमबार
धरानको बीपी प्रतिष्ठानमा भ्रष्टाचार भएको छ भन्दै अख्तियारमा थन्किएको फाइल बाहिर ल्याउन सांसदको माग

गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्रीसँग कार्यान्वयनमा ल्याउन माग

धरानः रास्वपा सुनसरी १ की लागि समानुपातिक सांसद् बनेकी सिर्जना श्रेष्ठले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको यसअघिका पदाधिकारीले गरेका कर्तुत बाहिर ल्याउन र अख्तियारमा अड्किएका भ्रष्टाचारका फाइलको छानविन गरी दोषीमाथि कडा कारवाहीको माग गरेकी छिन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले अख्तियारमा अड्किएका फाइलको तुरुन्तै छानविन गरी दोषी देखिए कारवाही गर्न माग गरेकी हुन् । ‘भ्रष्टाचारले थिलथिलो भएको प्रतिष्ठानको भेन्टिलेटर, फार्मेसी, एमसिएच विल्डिङलगायतका कयौं फाइलहरू अख्तियारमा थन्किएको छ’, उनले भनिन्, ‘तर कहिल्यै टुङ्गो लाग्दैन सभामुख महोदय ।’
धरानबासीले आफ्नै काखमा रहेको प्रसिद्ध मेडिकल कलेज हुँदाहुँदै पनि सर्वसुलभ र गुणस्तरीय सेवा पाउनबाट वञ्चित रहेको बताउँदै उनले ३ हजार बढी बिरामी स्वास्थ्यलाभका लागि आउने तर अस्पताल नै थला परेको अवस्था रहेको दर्शाइन् ।
‘धरानका जनताले जसरी खानेपानीको समस्या वर्षौदेखि खेपेका छन्, त्यसरी नै आफ्नो काखमा रहेको प्रसिद्ध मेडिकल कलेज हुँदाहुँदै पनि सर्वसुलभ र गुणस्तरीय सेवा पाउनबाट यहाँका जनता वञ्चित हुनुपरेको छ’, उनले सुनाइन्, ‘दैनिक औसतमा ३ हजार बढी बिरामी उपचारको आशा बोकेर आउने यो अस्पताल आज आफैं थला परेको छ, यो भन्दा ठूलो बिडम्वना के हुनसक्छ सभामुख महोदय ।’
सांसद श्रेष्ठले विगत ८ वर्षदेखि एमआरआई मेसिन नभएको प्रतिष्ठानमा सिटी स्क्यान बिग्रिएर थन्क्याइएको, दुईवटा अक्सिजन काम नलाग्ने अवस्थामा राखिएको र बाहिरबाट लिक्वीड अक्सिजन खरिद गरेर राज्यको करोडौं रकम स्वाहा पारिएको जानकारी दिँदै गरिब जनता बाहिरको महङ्गो सेवा लिन बाध्य रहेको बताइन् ।
उपचार गराउन पैसा नपाएर अस्पतालको आँगनमै बिरामी छटपटाइरहेको, बीमा बोर्डले पाउनुपर्ने झन्डै ९० करोडभन्दा बढी रुपैयाँ रोकेर राखिँदा प्रतिष्ठान धरासायी बनेको उनले जानकारी दिइन् । चरम दलीयकरण, पदाधिकारीहरूको गलत लेनदेन आदिका कारण प्रतिष्ठान मृत्युशैयामा पुगेको र सहारा पाउने आशामा अझै बाँचिरहेको उनले बताइन् । ‘तसर्थ शिक्षा, गृह र स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदछु कि अस्पतालमा तुरुन्तै एमआरआइ मेसिन र सिटी स्क्यान मेसिन ल्याइयोस् र डिजिटलाइजेसनको प्रोसेस तुरुन्तै अगाडि बढाइयोस् ।’ उनले बैठकमा भनेकी छिन् ।
उनले उपकुलपतिको नियुक्ति पनि चाँडो गर्न माग गरिन् । उनले गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता पनि निरीक्षण भ्रमणमा पुगेको जानकारी दिँदै विगतका दिनमा जस्तो गरिएको सम्बोधनले नपुग्ने बताइन् । ‘सम्बोधन विगतका दिनहरूमा जस्तो सम्बोधनमै सीमित नहोस्, परिणाममुखी कामको लागि निरन्तर फ्लोअप गरिदिन जोडदार माग गर्दछु ।’ उनले आग्रह गर्दै भनिन् ।
उनले प्रधानमन्त्री बालेन शाहले वर्षौदेखिको धरानबासीले खेप्दै आएको पानीको समस्या बुझी कोशीको पानीको लागि बजेट विनियोजन गरेको भन्दै उनले धन्यवाद दिइन् । उनले यसको लागि समयमै बजेट माग गरिन् ।

प्रकाशित मिति: असार २२ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend