Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेयर कपः एउटै स्कुलले जित्यो २१ पदक

हाम्रो कोशी आवाज
असार २२ २०८३, सोमबार
धरान मेयर कपः एउटै स्कुलले जित्यो २१ पदक

धरानः धरान उपमहानगरपालिकाको संयोजन तथा धरान खेलकुद मञ्चको आयोजनामा असार १३ देखि २० गतेसम्म धरान रंगशालामा सम्पन्न धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिबल–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल आफ्ना विद्यार्थी तथा प्रशिक्षकहरूलाई सुनाखरी एकेडेमी धरान–१२ ले सोमबार विद्यालय परिसरमा सम्मान गरेको छ ।
विद्यालयले प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ९ कास्य गरी कुल २१ पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई अविर, खादा, मेडल तथा सम्मानपत्र प्रदान गर्दै उनीहरूको उपलब्धिको कदर गरेको हो । करातेतर्फ चारु राई, अन्सु राई, मिक्सन लिम्बू, नुङनुमा राई र मिन्याहाङ लिम्बूले स्वर्ण पदक जिते । तायाबुङमा राई, मेडिया लिम्बू, उन्नयन बस्नेत र मिसुम लिम्बूले रजत पदक प्राप्त गरे भने साङ्गे डोल्मा तामाङ, स्वयुना कार्की, सोप्रिया गदाइली, देमछुङ राई र कुशल नेम्वाङले कास्य पदक जित्न सफल भए ।
टेबलटेनिसतर्फ आदित्मा मगरले एक स्वर्ण र एक कास्य पदक जिते भने लब्ली राई र सन्जिला लिम्बूले एक–एक कास्य पदक हात पारे । ब्याडमिन्टनतर्फ नयाङ राईले रजत पदक तथा तेक्वान्दोतर्फ इयोनहाङ राईले कास्य पदक जितेर विद्यालयको गौरव बढाएका छन् ।
प्रतियोगितामा विद्यार्थीलाई उत्कृष्ट प्रदर्शन गराउन योगदान पु¥याएका कराते प्रशिक्षक किरण लामा र टेबलटेनिस प्रशिक्षक गीता थापालाई पनि विशेष सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा विद्यालयका निर्देशक प्रदीप राई, प्लस टु संयोजक तपकुमार राई तथा प्रिन्सिपल मिलनकुमार राईले सम्मानित विद्यार्थी र प्रशिक्षकलाई सम्मानपत्र, मेडल, खादा तथा अबिर प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल मिलन राईले खेलकुदमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको मेहनतको कदर गर्दै आगामी दिनमा पनि उनीहरू अझ उत्साहका साथ विभिन्न प्रतियोगितामा सहभागी भई विद्यालय, परिवार र नगरको नाम उज्ज्वल बनाउन प्रेरणा मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको बताए । उनले खेलकुदसँगै अनुशासन, आत्मविश्वास र नेतृत्व विकासमा विद्यालयले निरन्तर प्राथमिकता दिँदै आएको समेत उल्लेख गरे ।

प्रकाशित मिति: असार २२ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend