धरानः सुनसरी १ का सांसद हर्क साम्पाङले धरानमा बालबालिका मनोरञ्जन पार्क निर्माणका लागि बजेट माग गरेका छन् ।
महिला बालबालिका तथा यौनिक अल्पसंख्यक सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र लेख्दै उनले बजेट माग गरेका हुन् । उनले धरान उपहानगरपालिकामा कहीँकतै बालबालिका खेल्ने, रमाउने पार्क नभएकोले बजेट विनियोजन गरिदिन हुन आग्रह गरेका छन् ।
धरानमा यस्तो पार्क नभएको साथै बालबालिकामा टेवा पुग्ने साथै पर्यटनको विकास समेत गर्ने उद्देश्यले यसै साल वा क्रमागत भएपनि बजेटको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
साम्पाङले यसअघि धरान उपमहानगरपालिकाको मेयर हुँदा धरान उपमहानगरपालिकाको बजेट, देशविदेशबाट संकलित रकम र श्रमदानमार्फत् श्रम संस्कृति पार्क निर्माण, एडिबी रोज गार्डेन, एसएनएस चौतारी र ज्येष्ठ नागरिक पार्क बनाएर देखाएका छन् । त्यहाँबाट संकलित रकम धरान उपमहानगरपालिकाको गतिलो आम्दानीको स्रोत समेत भइसकेको छ । कतिपयले पार्क बनेपनि दीर्घकालीन नभएको र खोलाले बगाएर नै बगाएर लाने अवस्थामा रहेको बताएका छन् भने कतिपयले जलाधार क्षेत्रमा पार्क बनाएको भन्दै टिप्पणी समेत गर्ने गरेका छन् ।
