धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिचौलियाको आरोपमा पक्राउ परेका छन् ।
प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई बिचौलियाहरूले आर्थिक चलखेल तथा मिलेमतो गरी विभिन्न निजी अस्पतालहरूमा पठाई अवैध कमिसनको चलखेल भइरहेको भन्ने जनगुनासोका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि शंकास्पद गतिविधी गरी रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका वडा नं. १ कुमालचोक बस्ने ४३ वर्षीय प्रविण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका वडा नं. ४ बस्ने २७ वर्षीय दीपक रामलाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।
दीपकले बोकेको छालाको पर्सभित्र आर्या न्यूरो अस्पताल विराटनगरको भिजिटिङ कार्ड थान २ फेला परेको समेत प्रहरीले जनाएको छ । उनीहरूको साथमा रहेको मोबाइलहरूमा विभिन्न सरकारी अस्पतालहरूबाट बिरामीहरूको नामको प्रेस्क्रिप्सन, डिस्चार्ज गरिएको कागजातहरूको फोटो फेला परेको थियो । उनीहरूले मोबाइलमा विभिन्न बिरामीहरूको नाम, रोग, उमेरलगायतको विवरणहरू विभिन्न व्यक्तिहरूलाई पठाएको फेला परेको पनि डिएसपी खड्काले जानकारी दिएका छन् ।
मोबाइलमा एम्बुलेन्स चालकहरूको नाम, सम्पर्क नम्बरहरू लेखिएको कागजातहरूको फोटोहरू फेला परेको पनि प्रहरीको दावी छ ।
उनीहरूमाथि अभद्र व्यबहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट दिन १० (दश) म्याद थप भई इलाका प्रहरी कार्यालय धरानमा थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।
बीपी प्रतिष्ठानमा बिचौलियाको रजगज हुँदै आएको थियो । प्रतिष्ठानमा बिचौलियाको रजगजका कारण उपचारमा व्यापार हुने गरेका यसअघि पनि समाचारहरू बाहिरिँदै आएका थिए । बिचौलिया र चिकित्सकको मिलेमतोमा बिरामीलाई महंगो सामान किन्न बाध्य पारिने गरिएको जनगुनासो बढ्दो थियो । उपचारमा व्यापार, बिचौलिया र चिकित्सकको मिलेमतो हुने गरेको पीडितले स्वास्थ्यमन्त्री निशा मेहतालाई भेटेर जानकारी समेत दिएका थिए भने मन्त्रीसमक्ष उजुरी पनि गरेका थिए ।
केहीदिनअघि प्रतिष्ठानमा मलाई सबै थाहा छ भन्दै गृहमन्त्री सुधन गुरुङसहित स्वास्थ्यमन्त्री मेहता पनि आएका थिए ।
