Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको कलेजमा प्रहरी गएर अपराधबारे सचेत गराए

हाम्रो कोशी आवाज
असार २४ २०८३, बुधबार
धरानको कलेजमा प्रहरी गएर अपराधबारे सचेत गराए

धरानः आर्थिक तथा वित्तीय अपराधका बढ्दा घटनाप्रति विद्यार्थीलाई सचेत र जिम्मेवार बनाउन धरान–१६ स्थित युएन नवोदय कलेजमा विशेष सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय धरानको आयोजनामा कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक युएन नवोदय कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक देवीबहादुर कार्कीले आर्थिक तथा वित्तीय अपराधका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए।
उनले पछिल्लो समय अनलाइन ठगी, बैंकिङ ठगी, डिजिटल भुक्तानी प्रणालीको दुरुपयोग, साइबरमार्फत हुने आर्थिक अपराध तथा सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई जानकारी गराए।
उनले अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, आफ्नो बैंक खाता, एटीएम, ओटीपी र व्यक्तिगत विवरण कसैसँग पनि साझा नगर्न तथा कुनै पनि शंकास्पद आर्थिक कारोबार वा अनलाइन ठगीको घटना भए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरे। प्रविधिको विकाससँगै आर्थिक अपराधका नयाँ–नयाँ स्वरूप देखिन थालेकाले युवापुस्ता सचेत हुनुपर्नेमा उनले जोड दिए।
प्रशिक्षणका क्रममा विद्यार्थीहरूले आर्थिक तथा वित्तीय अपराधसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। प्रहरी वरिष्ठ नायव निरीक्षक कार्कीले कानुनी व्यवस्था, अपराधबाट बच्ने उपाय र सचेतनाबारे विद्यार्थीका प्रश्नको उत्तर दिएका थिए।
युएन नवोदय कलेजका पब्लिक रिलेसन्स अफिसर राम लिम्बूका अनुसार विद्यार्थीमा कानुनी तथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।
प्रहरी र शैक्षिक संस्थाबीचको सहकार्यले विद्यार्थीलाई जिम्मेवार, सचेत र सुरक्षित नागरिक बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।
कलेजको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कलेजका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: असार २४ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend