धरानः संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राईले आफूलाई ज्यान लिने र घर जालइदिने धम्की दिएकाहरूलाई साइब/ब्युरोमा उजुरी दिएपनि पक्राउ नपरेको गुनासाे गरेका छन् ।
बुधबार बसेकाे प्रतिनिधिसभाको बैठकमा उनले सो कुरा बताएका हुन् ।
सांसद राईले प्रधानमन्त्रीविरुद्ध गाली गर्ने तत्काल पक्राउ पर्ने र सांसदविरुद्ध गाली गर्नेलाई पक्राउ नगर्ने प्रवृत्तिमाथि पनि प्रश्न गरे ।
‘गाली गर्ने चलनलाई कसरी अन्त्य गर्ने ? सबै जना सचेत हुनुपर्छ । प्रधानमन्त्री मन्त्रीहरूलाई गाली गर्ने बित्तिक्कै पक्राउ गरिहाल्ने, सांसदहरूलाई गाली गर्ने बितिक्कै किन नगर्ने भन्ने विषय पनि छ । मलाई पनि दुई जना व्यक्तिले ज्यानै मार्ने, घरै जलाइदिन्छु भन्ने अभिव्यक्ति दिनुभयो मैले साईबर ब्युरोमा रिपोर्ट गरे तर ती व्यक्तिहरू पक्राउ परेजस्तो मलाई लाग्दैन,’ उनले भने, ‘आफ्ना समर्थकले जेभन्दा पनि छुट हो भने त्यो अराजकताले अर्को मोड लिन सक्छ ।’
सांसद साम्पाङले सरकारको चाहना सबैकुरा चिटिक्कै होस् भन्ने चाहना भए पनि सबैको जीवन चिटिक्कै परेको नहुने बताएका हुन् ।
माइतीघरमा आन्दोलनरत दृष्टिविहीनको सन्दर्भ निकाल्दै उनले सरकारले आफू जस्तै अरुलाई चिटिक्क सम्झन नहुने बताए । उनले माइतीघरमा आन्दोलनरत दृष्टिविहीन नागरिकको समस्या र सरकारका मन्त्रीहरुको जीवन शैलीलाई संकेत गर्दै घुमाउरो कटाक्ष गरेका हुन् ।
उनले कि त आन्दोलनरत दृष्टिविहीनलाई सडकमा गीत गाएर गुजारा गर्ने वातावरण बनाई दिनु पर्ने कि गुजाराका लागि सरकारले एकैचोटी नसके पनि क्रमशः रोजगारी दिलाउनु पर्ने बताए । उनले दृष्टिीविहीनलाई यो महिनादेखि १०–१५ जनालाई रोजगारी दिने काम थालनी गर्नुपर्ने बताए ।
सांसद राईले प्रधानमन्त्रीले संसदबाट दिएको अभिव्यक्ति संसदमै आएर सच्याउनु पर्छ भनेर आफूहरुले माग राखिरहेकाले सभामुखले रुलिङ गर्नुपर्ने समेत बताएका छन् । सांसद राईले लोकतन्त्रमा सबैले नियम कानुन मान्नु पर्ने बताउँदै एकथरीले नमाने, अर्को पक्षले पनि मान्दिनँ भन्ने मनसाय बनाउने बताए । त्यो अवस्थालाई लोकतन्त्र नभनि अराजकतन्त्र भनिने बताउँदै संसद पनि विस्तारै विस्तारै सोही बाटोमा हिंडिरहेको बताए ।