धरानः धरान-१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले भारत नेपाली नृत्य देखाउने भएका छन् ।
भारतको नागाल्यान्ड राज्यको मोकोक्चुङमा आयोजना हुने २१२ औं भानु जयन्ती विशेष कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति र परम्परा झल्काउने सांस्कृतिक नृत्य प्रस्तुत गर्ने भएको छ ।
विद्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत् भारतको नागाल्यान्डस्थित मोकोक्चुङमा रहेको गोर्खा विद्यार्थी संघको औपचारिक निमन्त्रणाअनुसार आगामी असार २९ गते (जुलाई १३) आयोजना हुने कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिएको हो ।
विद्यालयका कोअर्डिनेटर आगानसाङ राईले प्रेस विज्ञप्ति वाचन गर्दै सो कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेपालको मौलिक कला, संस्कृति, भेषभूषा तथा सांस्कृतिक पहिचान झल्काउने पाँचवटा मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गर्ने बताए । उनका अनुसार यो सहभागिता विद्यार्थीहरूको प्रतिभा प्रदर्शन मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर हुनेछ ।

कार्यक्रममा सहभागी हुन विद्यालयका आठ जना विद्यार्थीसहितको टोली आवश्यक तयारीका साथ असार २७ गते नागाल्यान्ड प्रस्थान गर्ने उनले जानकारी दिए ।
विद्यालयका प्रबन्ध निर्देशक गणेश राईले आफू नागाल्यान्डमै जन्मिएर हुर्किएको स्मरण गर्दै त्यहाँ रहँदा तामाङ सेलो र झ्याउरे गीत मात्र सुन्ने अवसर पाएको बताए । नेपाल आएपछि भने साकेला, कौडा लगायत विभिन्न जातजातिका सयौँ मौलिक गीत, नृत्य र सांस्कृतिक सम्पदाबारे जानकारी पाएको उल्लेख गर्दै उनले ती संस्कृतिलाई नागाल्यान्डमा रहेका नेपाली मूलका समुदायमाझ पु¥याउने चाहना लामो समयदेखि रहेको बताए ।
‘हाम्रो विद्यालयका विद्यार्थीहरूलाई त्यहाँ लगेर नेपालको मौलिक संस्कृति देखाउने इच्छा धेरै वर्षदेखि थियो । यसैबीच मोकोक्चुङस्थित गोर्खा विद्यार्थी संघबाट भानु जयन्तीका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत गर्न औपचारिक निमन्त्रणा प्राप्त भएपछि हाम्रो सपना पूरा हुने अवसर आएको छ,’ उनले भने ।
राईले भारतको नागाल्यान्डमा पुस्तौँदेखि बसोबास गर्दै आएका नेपाली मूलका समुदायबीच नेपालको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा विद्यालयको सहभागिताले सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सन्जिता राईले विद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेकोमा आयोजक संस्था, अभिभावक, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको सफल सहभागिताका लागि शुभकामना व्यक्त गरिन् ।