Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका विद्यार्थीः कक्षामा पढ्दै, खेतमा सिक्दै

हाम्रो कोशी आवाज
असार २८ २०८३, आइतबार
धरानका विद्यार्थीः कक्षामा पढ्दै, खेतमा सिक्दै

धरानः शनिबार विद्यालय छुट्टी हुने दिन । धरानको हिबिस्कस स्कुल पढ्ने विद्यार्थी भने जुत्ता खोलेर कोही विद्यालय पोशाक त कोही घर बस्दा लगाउने पोशाकमा खेततिर पसे ।
धरान–५ स्थित देवीगाउँ सिरानको खेतमा रोपाइँ गर्ने मौसम जुरेको थियो । त्यसैले सबैजना खुशी हुँदै रोपाइँ गर्न खेततिर लागे । छात्रले बिउ पुरयाउने र बाउसे खेलाउने काम गरे भने छात्रा बिउ उखेल्न र धान रोप्न थाले । अहिलेका यो उमेरका धेरै जसो विद्यार्थी खेतको काम गर्न जान्दैनन् । विद्यालयको खेतमा भने विद्यार्थीले रमाएर काम गरेका थिए ।
विद्यालयका प्रबन्ध निर्देशक गंगाराम राईले भने, ‘सबैले सामूहिकरूपमा काम गर्दा जाँगर चल्छ, नजानेकाले पनि काम गर्न सिक्छन् अनि कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने भएकाले विद्यार्थी यस्तो काम गर्न निकै रुचाउँछन् ।’
रोपाइँमा पुगेकी छात्रा आस्था उदासले धान रोप्ने पहिलोपटक अनुभव लिइएको बताइन् । ‘यही काम घरमा बाआमाले अराउँदा गर्न मन लाग्दैन तर स्कुलमा सर, मिसले भन्दा गरिन्छ । त्यसले एउटा त हाम्रो लागि सिकाइ हुन्छ भने ‘प्रोजेक्ट वर्क’ को काम पनि हुन्छ ।’
कृषि संस्कृतिसँग विद्यार्थीलाई जोड्ने र गाउँघरको परम्परा जगेर्ना गर्ने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रम गर्दै आएको निर्देशक राई बताउँछन् । यस्तो प्रयासले यहाँका बालबालिकामा कृषि पेशाप्रति सकारात्मक सोच विकास गरिरहेको विद्यालयको बुझाइ छ । ‘विद्यार्थीमा श्रमको महत्व, प्रकृतिप्रतिको प्रेम र ग्रामीण जीवनशैलीप्रति आकर्षण बढाउन यस्ता कार्यक्रमलाई सबैतिर निरन्तरता दिँदा राम्रो हुन्छ ।’ निर्देशक राईले सुझाए ।
विद्यार्थीलाई कृषि र खाद्य उत्पादन प्रक्रियाबारे व्यवहारिक ज्ञान दिन सकियो भने कृषि प्रधान देश नेपाललाई फाइदा पुग्ने उनले बताए । कार्यक्रममा विद्यार्थीहरूले धान रोप्ने, बिउ ओसार्ने तथा आली बाउसे गर्ने जस्ता कार्यमा प्रत्यक्ष सहभागिता जनाएका थिए । यस अवसरमा उनीहरूले धान रोपाइँदेखि चामल बन्नेसम्मको सम्पूर्ण प्रक्रिया व्यवहारिक रूपमा बुझ्ने अवसर पाएका थिए ।
रोपाइँ कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा विद्यार्थी, शिक्षक, शिक्षिका नाचेर, खाजा खाएर घर फर्किए । विद्यालयले यस्ता व्यवहारिक कार्यक्रमले विद्यार्थीमा श्रमप्रतिको सम्मान, कृषि सम्बन्धी ज्ञान र सामूहिक कार्य गर्ने संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति: असार २८ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend