बीपी अस्पताल सुधारेर देखाउँछुः उपकुलपति कार्की
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा नियुक्त भएकी प्रा.डा. स्मृति कार्कीले पदभार ग्रहण गरेकी छिन् ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं. २५०, प.सं. २०८२।२०८३, मिति २०८३।३।२५ गतेको पत्रबाट प्रतिष्ठान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ ख (१) बमोजिम प्रधानमन्त्री एवम् वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिको मिति २०८३।३।२४ गतेको निर्णयानुसार प्रतिष्ठानको उपकुलपतिमा नियुक्त कार्कीले सोमबारदेखि प्रतिष्ठानमा हाजिर भई पदभार ग्रहण गरेकी हुन् । प्रतिष्ठान परिवारले हर्षोल्लासका साथ फूल, माला, अविर, खदाले भव्य स्वागत गरेको प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिए ।
प्रतिष्ठानमै प्याथोलोजी विषयमा स्नातकोत्तर (एमडी) गरेकी प्रा.डा. कार्कीले यसभन्दा पहिले प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य तथा विभिन्न महत्वपूर्ण समितिहरूको अध्यक्षको रूपमा समेत सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेकी छिन् । उनले विभागीय प्रमुखका हैसियतले पनि लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएकी छिन् भने प्रतिष्ठानमा हाउस अफिसरको पददेखि प्राध्यापकको पदसम्मको सेवा दिँदै आएकी छिन् ।
चिकित्सा शिक्षा, प्रयोगशाला चिकित्सा र संस्थागत प्रशासनमा लामो अनुभव हासिल गरेकी डा. कार्की प्रतिष्ठानकै वरिष्ठ प्राध्यापकका रूपमा परिचित छिन् । उनको नियुक्तिलाई प्रतिष्ठानमा स्थायित्व, सुशासन र शैक्षिक सुधारको अपेक्षासँग जोडेर हेरिएको छ । उपकुलपति प्रा.डा. कार्कीले प्रतिष्ठानलाई सुधारेर देखाउने जिम्मेवारी आफूकहाँ आएकोले सुधारेर देखाउने प्रतिबद्धता जनाइन् ।
विभिन्न सरकारी संस्थाहरू, विश्वविद्यालयहरू, प्रतिष्ठानहरू आदिका पदाधिकारीहरु पदमुक्त हुने गरी नेपाल सरकारको मन्त्री परिषद्को निर्णयबमोजिम प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौला तथा अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद पदमुक्त भएसँगै नेपाल सरकारले उपकुलपति पदका लागि दरखास्त आव्हान गरे पश्चात् १६ जना चिकित्सक, प्राध्यापकहरुले प्रतिष्पर्धामा सहभागिता जनाएका थिए । प्रतिष्पर्धाबाट ७ जना छनौट हुँदै अन्त्यमा प्रा.डा. कार्की प्रतिष्ठानको उपकुलपतिमा छनोट हुन सफल भएकी थिइन् ।
उपकुलपतिको नियुक्तिको प्रकृया हुँदै गर्दा प्रतिष्ठानको गतिविधिलाई सुचारु राख्न नेपाल सरकारले प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बूलाई सम्पूर्ण आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त कार्यलय प्रमुखको जिम्मेवारी दिए बमोजिम उनले हालसम्म उक्त जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै आएका थिए ।










