धरानः धरान-१४ स्थित प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर मन्दिरमा वर्षेनी लाग्दै आएको ‘बोलबम’ मेलाको तयारीमा तीब्रता दिइएको छ ।
मेलाको अवसरमा बोलबम व्यवस्थापन समितिले लाखौं भक्तजन आउने अनुमानसहित आवश्यक पूर्व तयारीहरू थालेको छ । वर्षेनी एक महिनासम्म चल्ने मेलाको लागि सुरक्षा, स्वच्छता, पानी र स्वास्थ्य सेवा व्यवस्थापनमा विशेष ध्यान दिइने जनाइएको छ । यसपटक नयाँ शैली अपनाउँदै भक्तजनहरूलाई वर्षाको पानीबाट जोगाउन अस्थायी संरचना टेन्ट निर्माण गरिनेछ भने गर्मीबाट जोगाउन गर्मी कम गर्न नयाँ प्रविधि प्रयोगमा ल्याइने जनाइएको छ ।
पिण्डेश्वर बाबाधाम समितिका कार्यवाहक अध्यक्ष सुधिरसिंह लिम्बूका अनुसार गर्मीबाट राहत दिलाउन सडकमै ‘मिस्ट स्प्रे’ प्रयोगमा ल्याइने जानकारी दिए । ‘बढ्दो गर्मीबाट भक्तजनहरूलाई राहत दिन सडकमा पानीको मसिनो फोहोरा छर्किने ‘मिस्ट–स्प्रे’ प्रणाली प्रयोगमा ल्याइनेछ’, उनले भने, ‘मन्दिर क्षेत्रमा मिस्ट–स्प्रे प्रणालीले सडक आसपासको तापक्रम केही हदसम्म घटाउने र भक्तजनलाई केही राहत हुने विश्वास लिइएको छ ।’ उनले मन्दिर पुग्ने सडकमा भीडभाड हुने र आवतजावत हुने भएकाले यसले केही हदसम्म सहयोगी बन्ने बताए ।
साउन १ गते बराहक्षेत्र मन्दिरका मूल पुजारी योगेश भण्डारीले उद्घाटन साढे ८ बजे गर्ने र सोहीदिन जलाभिषेक कार्यक्रम रहेको जलाभिषेक कार्यक्रमको अध्यक्ष समेत रहेका लिम्बूले जानकारी दिए । यस वर्ष व्यवसायीहरूका लागि संयुक्तरुपमा एकै छानामुनि व्यवसाय गर्ने वातारण मिलाइएको छ । एउटै छानामुनी ३४ वटा स्टल तयारी रहेको उनले बताए ।
धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले यस वर्षको मेला अझ व्यवस्थित हुने बताए । उनले भक्तजनको सुरक्षाका लागि २४ सै घण्टा प्रहरी तैनाथ हुने जानकारी दिए । आउने भक्तजनका लागि विभिन्न संघसंस्थाहरूले निःशुल्क पानी, निःशुल्क भोजन समेत गराउँदै आएकोमा यस वर्षपनि निरन्तरता दिइने उनले जानकारी दिए ।
४१ वर्षपछि मन्दिर व्यवस्थापन समिति गठन
यसैबीच करिब ४२ वर्षपछि मन्दिर व्यवस्थापन समिति गठन भएको छ । यसअघि पिण्डेश्वर बाबाधाम समितिले मेलाको व्यवस्थापन गर्दै आएको थियो । गुठी संस्थानअन्तर्गतको निर्देशिका बमोजिम मालपोतको कार्यालयका प्रमुखको अध्यक्षता बैठकमा बोलाइएको र समिति गठन भएको हो ।
मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा प्रा.डा. राजेन्द्रप्रसाद शर्मा, सचिवमा विकासकुमार बनेपाली, कोषाध्यक्षमा अरुणा पोखरेल रहेका छन् । पिण्डेश्वर मन्दिरमा बोलबम शुरुवात भएको २०४१ सालपछि पिण्डेश्वर बाबाधाम समिति गठन भएको जनाइएको छ ।
यसपटक लाखौं आउने अनुमान
यस वर्ष पनि पिण्डेश्वर मन्दिरमा लाखौं भक्तजन आइपुग्ने अनुमान गरिएको छ । बोलबम भक्तका कारण साउनभर धरान पहेंलपुर हुने गरेको छ । बोलबम मेलामा भक्तजनहरू विशेषगरी पहेंलो लुगा लगाएर र खाली खुट्टा हिँड्दै कोशी नदीको चतरास्थित संगमस्थलबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउने गर्छन् । धार्मिक विश्वासअनुसार यसरी चढाइएको जलले भक्तजनको मनोकाङ्क्षा पूरा हुने मानिन्छ ।
राति १ बजेदेखि नै मन्दिरको ढोका खुल्ने र त्यतिबेलैदेखि भक्तजनको भीड लाग्ने गरेको छ । धरानमा बोलबम भित्रिँदा चहलपहल, व्यापार व्यवसायमा वृद्धि मात्रै हुँदैन धार्मिक पर्यटनमा टेवा पुग्ने गरेको छ ।
यसवर्ष समयमै वर्षा भएका कारण खेतीपाती (धान रोप्नेलगायतका) को काम पनि करिब करिब पूरा हुन लागेकोले धेरै भक्तजन आउने आंकलन गरिएको वडाध्यक्ष भट्टराईले बताए ।
पिण्डेश्वर बाबा धाममा अधिकांश महिलाको उपस्थित हुने गर्छ । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै शिवलिङगमा जल चढाउने गर्दछन् । शिवजीलाई जल चढाए राम्रो श्रीमान् पाइने, श्रीमानसहित परिवारमा सुख समृद्धि हुने र मनोकामना पूरा हुने पनि विश्वास गरिन्छ ।
यसअघि खालीखुट्टा हिँडेर कोशीको पानी ल्याउने भक्तजनहरुले केही वर्षअघिदेखि सवारी साधनमा पुगेर जल ल्याउने परम्परा बस्दै गएको प्रोफेसर डा. राजेन्द्र शर्मा बताउँछन् । ‘२०३९ सालदेखि शुरु भएको बोलबममा यसअघि गेरुबस्त्रधारण गर्दै खाली खुट्टा नै कोशी नदीबाट पानी ल्याउँदै आएका हुन् तर केही वर्षयतादेखि सवारी साधनको कारणले यस्तो प्रचलन हराउँदै गएको छ ।’ उनी थप्छन् ।
अघिल्लो वर्षदेखि धरान–४ स्थित शिवजट्टाबाट जल ल्याएर चढाउने नयाँ प्रचलनको शुरुवात भएको थियो । धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले र १४ का वडाअध्यक्ष भट्टराईको पहलमा यो प्रचलनको शुरुवात भएको थियो । धार्मिक सर्किटका रुपमा धरानलाई विकास गर्ने हो भने धार्मिक पर्यटनको अभियान अघि बढ्ने र यस क्षेत्रकै आर्थिक, सामाजिक र सांस्कृतिक उत्थान हुने हुनाले पनि यस्तो प्रचलन हुनु राम्रो रहेको उनीहरुको भनाइ छ ।
भगवान शिवको आँशु उत्पति भएको पौराणिक महत्वको रुद्राक्षको उत्पति भएको पिण्डेस्वरलाई रुद्राक्षरनयका रुपमा शास्त्रहरुमा व्याख्या गरिएको छ । शैव सम्पदाय अर्थात् शिवजीलाई मुख्य आस्थाका केन्द्र मान्ने मानिसहरुका लागि अत्यन्तै महत्वको धार्मिक तीर्थस्थल भए पनि यसको महिमाको प्रचारप्रसार धरान र यस वरपर मात्र सीमित रहेको छ । हिन्दूहरुको आस्थाका तीर्थस्थलहरु वाराणसी, हरिद्धार जस्ता स्थलमा गएर प्रचरप्रसार गर्ने हो भने धार्मिक पर्यटकहरुको आगमनमा वृद्धि हुने देखिन्छ ।