Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको स्मार्ट बसपार्क सञ्चालनमा आएपछि सरर गाडी चल्न थाले, बढ्यो चहलपहल

हाम्रो कोशी आवाज
साउन १ २०८३, शुक्रबार
धरानको स्मार्ट बसपार्क सञ्चालनमा आएपछि सरर गाडी चल्न थाले, बढ्यो चहलपहल

धरानः अन्ततः धरानको स्मार्ट बसपार्क आजदेखि सञ्चालनमा आएको छ । धरान-८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनामा निर्माण गरिएको स्मार्ट बसबाट अहिले सवारी साधन गुड्न थालेका छन् ।
गत असार १३ गते नै उद्घाटन भएको बसपार्क आजदेखि सञ्चालनमा आएको हो । बसपार्क सञ्चालनमा आएसँगै त्यहाँबाट गाडी गुड्न थालेपछि चहलपहल पनि बढेको छ । बसपार्क सञ्चालनमा आएसँगै धरानको भानुचोक भने सुनसान बनेको छ । अहिले त्यहाँ पार्किङको लागि निषेध गरिएको अवस्था छ ।
गएको असार १३ गते नै उद्घाटन भएपनि बस व्यवसायीले त्यहाँ यातायातका साधन भने लगेका थिएनन् । उपमहानगरपालिका, प्रहरी, व्यवसायीबीच सहमति जुटेपछि त्यहाँ यातायात सञ्चालनमा आएको हो ।
बसपार्क सरेपछि विशेषतः धरानस्थित बीपी प्रतिष्ठानमा उपचारमा आउने बिरामी साथै भानुचोक आउने यात्रुलाई केही असहज महसुस गरेका छन् । टेम्पो र सफारीको भाडा तिर्नुपर्ने भएपछि थप व्ययभार बढेको उनीहरूको गुनासो छ । उनीहरूले धरान उपमहानगरपालिकाले नगर बस सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
धरानको भानुचोक बसपार्क साँघुरो र ट्राफिक समस्याका कारण पनि पहिलादेखि सर्नुपर्ने आवाज उठिरहेको थियो । भानुचोक सुनसान भएपनि त्यहाँ सांस्कृतिक कार्यक्रमसहितको स्टेज तयार गरेर अहिलेकै अवस्थामा फर्काउने तयारीमा धरान उपमहानगरपालिका रहेको कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले जानकारी दिएका छन् ।
संघीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण भएको थियो ।
कुल ३३ करोड ७० लाख ४७ हजार ३३७ लागत अनुमान गरिएको सो आयोजना निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरीले पाएको थियो। निर्माण कम्पनीले २५ करोड ४१ लाख ६७ हजार ३१९ रुपैयाँ मा २०७८ असार ३० गते ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो । बसपार्क २४ करोड ८६ लाख नौ हजार १४८ रुपैयाँमा निर्माण सम्पन्न भएको थियो ।
यहाँ एकैपटक ३८ वटा ठूला बस र १८ वटा जीप पार्किङ गर्न सकिने व्यवस्था छ । भवनको बेसमेन्टमा ७२ वटा दुईपांग्रे सवारीसाधन, ६० वटा अटो तथा केही कार र जीप पार्किङ गर्न सकिने क्षमता रहेको छ । बसपार्कमा करिब ३०० यात्रु अट्ने सुविधा सम्पन्न प्रतीक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटीभी तथा सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा यात्रु चढाउन र ओराल्नका लागि २२ वटा अटो अट्ने स्टेसन निर्माण गरिएको छ । अन्डरग्राउन्ड पार्किङसहित बसपार्क भवनको पहिलो तलामा १८ वटा व्यावसायिक सटरसमेत निर्माण गरिएको छ ।
अहिले बसपार्क सञ्चालनको जिम्मा इटहरीका सुमन राईको कम्पनी ब्रदर्स ट्रेडर्सलाई भ्याटसहित वार्षिक १ करोड २ लाख रुपैयाँमा ठेक्कामार्फत् दिइएको छ ।

प्रकाशित मिति: साउन १ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend