धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । प्रत्येक वर्ष नै पहिलो सोमबार खासै भक्तजन उपस्थित हुँदैनन् ।
राति १ बजेदेखि नै मन्दिरको ढोका खुलेको र पहिलो सोमबार स्थानीय भक्तजनको उपस्थिति रहेको पिण्डेश्वर बाबाधाम समितिका कार्यवाहक अध्यक्ष सुधिरसिंह लिम्बूले जानकारी दिए ।
धरानमा बोलबम भित्रिँदा चहलपहल, व्यापार व्यवसायमा वृद्धि मात्रै हुँदैन धार्मिक पर्यटनमा टेवा पुग्ने गरेको छ । यस वर्ष वर्षा भएका कारण खेतीपाती (धान रोप्नेलगायत) काम धमाधम भइरहेकोले सोमबार कम भक्तजन आएको हुनसक्ने कावा अध्यक्ष लिम्बूले जानकारी दिए ।
कोशी नदीबाट जल ल्याई पिण्डेश्वर बाबाधाममा रहेको शिवलिंगमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
साउनको सोमबार ब्रत बस्दै शिवजीलाई जल चढाए राम्रो श्रीमान् पाइने, श्रीमानसहित परिवारमा सुख समृद्धि हुने र मनोकामना पूरा हुने विश्वास गरिन्छ । धरानको पिण्डेश्वर अमृतको अंशवाट स्थापित भएकोले पनि यहाँ पवित्र जल चढाउँदा अमृतको प्रभाव पाइने स्कन्ध पुराणमा उल्लेख भएको बताइन्छ ।
विगतको वर्षभन्दा यस वर्ष भक्तजन बढ्ने अपेक्षा पिण्डेश्वर बाबाधाम समितिले गरेको छ । यसैलाइै मध्यनजर गरी यस वर्ष विगत वर्षको भन्दा व्यवस्थित बनाउन सुरक्षा प्रबन्धसँगै खानेपानी, शौचालय तथा भक्तजनहरुका लागि प्राथमिक उपचारको व्यवस्था समेत गरिएको समितिका अध्यक्ष लिम्बू बताउँछन् । मधेशी सेवा समाज, नेपाल अग्रवाल सभा धरान एवम् नेपाल अग्रवाल महिला मन्च धरानले निःशुल्क भोजन साथै सचेत धराने समूहले निःशुल्क पानी वितरण गरिरहेको छ ।