धरानः डिपोट सेकेन्डरी स्कुल, धरान-१८ को आयोजनामा ५ औं मेजर श्रवणकुमार लिम्बू स्मृति डिपो बास्केटबल कप–२०८३ आगामी श्रावण १५ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ ।
प्रतियोगिताबारे जानकारी दिन विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका खेल संयोजक उमेश ताम्राकारले प्रेस विज्ञप्ति वाचन गर्दै जानकारी गराए । प्रतियोगिताको संयोजन धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघ ले गर्नेछन् भने स्व. मेजर श्रवणकुमार लिम्बूको परिवार मुख्य प्रायोजक रहनेछ ।
विद्यालयका प्रिन्सिपल राजकुमार राईले कक्षा–१० सम्मका विद्यार्थीभित्र लुकेर रहेको खेल प्रतिभालाई उजागर गर्नुका साथै धरानका विद्यालयहरूबीच आपसी सद्भाव, मित्रता र सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै मोस्ट भ्यालुएबल प्लेयर, हाई स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
डिपो सार्वजनिक शैक्षिक गुठीका वर्तमान अध्यक्ष खड्गसम्शेर लिम्बूले स्व. मेजर श्रवणकुमार लिम्बू २०५९ देखि २०७८ सालसम्म गुठीका संस्थापक अध्यक्षका रूपमा १९ वर्ष सक्रिय रहँदै विद्यालयको विकास, प्लस टु सञ्चालन तथा डिपो आदर्श बहुमुखी क्याम्पस स्थापना गर्न महत्वपूर्ण योगदान पुरयाएको बताए । उनी स्वयं बास्केटबलप्रेमी भएकाले र बिद्यालयको बिकासमा उल्लेख्य योगदान पुरयाएको हुनाले उनकै स्मृतिमा प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो ।
गुठीका सदस्य सूर्यप्रकाश पन्धाकले पनि स्व. मेजर लिम्बूले विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा पुरयाएको योगदानको चर्चा गरे । स्व. मेजर श्रवणकुमार लिम्बूको २०७८ साल श्रावण १५ गते निधन भएको थियो ।