Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका प्रमोद राईले बंगलादेशमा दक्षिण एशियाली खेलमा जितेर आए

हाम्रो कोशी आवाज
साउन ७ २०८३, बिहिबार
धरानका प्रमोद राईले बंगलादेशमा दक्षिण एशियाली खेलमा जितेर आए

धरानः धरानका प्रमोद राईले बंगलादेशमा आयोजित दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा जितेर आएका छन् ।
एसियाली कराते महासंघको सहकार्यमा बंगलादेशमा हालै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रमोदले काता विधामा स्वर्णपदक तथा ५७ केजीमुनिको कुमिते विधामा कास्यपदक जित्न सफल भएका हुन् ।
प्रमोदका प्रशिक्षक किरण लामाले प्रमोद मेहनति, अनुशासित र प्रतिबद्ध खेलाडी भएको बताउँदै बंगलादेशको सफलताभन्दा अघि पनि उनले श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि स्वर्णपदक जितिसकेको जानकारी दिए । आगामी दिनमा अझ ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट नतिजा ल्याउने विश्वास प्रशिक्षक लामाले व्यक्त गरे ।
धरान–१६ स्थित युएन, नवोदय कलेजमा कक्षा ११ कम्प्युटर व्यवस्थापन विषय अध्ययनरत् प्रमोदले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको यो सफलता कलेजका लागि मात्रै नभई कोशी प्रदेश र सम्पूर्ण नेपालका लागि गौरवको विषय बनेको कलेजले जनाएको छ । अध्ययनसँगै खेलकुदमा पनि विद्यार्थीलाई उत्कृष्ट बनाउन सकिने उदाहरण प्रमोदले प्रस्तुत गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउँदै स्वर्ण र कास्य पदक जितेर फर्किएका प्रमोद राईलाई युएन नवोदय प्लस २ कलेजले विशेष सम्मान कार्यक्रम आयोजना गरी बधाई ज्ञापन गरेको छ । कार्यक्रममा कलेज प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले उनको उपलब्धिको प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।
प्रमोदको सफलताप्रति खुशी व्यक्त गर्दै क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यार्थीले प्राप्त गरेको उपलब्धिले सम्पूर्ण कलेज परिवार गौरवान्वित भएको बताए । उनका अनुसार युएन नवोदय प्लस २ कलेजले शैक्षिक उत्कृष्टतासँगै खेलकुद, नेतृत्व विकास र व्यक्तित्व निर्माणलाई पनि समान प्राथमिकता दिँदै आएको छ । विद्यार्थीको यही समग्र विकासको परिणामस्वरूप अन्तर्राष्ट्रियस्तरमा पनि सफलता हासिल भइरहेको उनले उल्लेख गरे ।
कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले कलेजले विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी उनीहरूको चौतर्फी क्षमता विकास, सिर्जनशीलता, नेतृत्व र खेलकुद प्रतिभालाई पनि प्रोत्साहन गर्दै आएको बताए । प्रतिभावान विद्यार्थीलाई आवश्यक सहयोग, हौसला र अवसर प्रदान गर्नु कलेजको प्राथमिकता रहेको उनको भनाइ छ ।
प्रमोद राईको यो ऐतिहासिक सफलताले कोशी प्रदेशकै अग्रणी कलेजले शैक्षिक क्षेत्रमा मात्र होइन, खेलकुद क्षेत्रमा पनि सक्षम र अन्तर्राष्ट्रिय स्तरका प्रतिभा उत्पादन गरिरहेको सन्देश दिएको छ ।

प्रकाशित मिति: साउन ७ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend