धरानः धरानमा शुक्रबार दुःखद् घटना घट्यो । बुबाको उपचार गराउन हिँडेका छोरा दुर्घटनामा आफैं अस्ताए । जुन दुःखद् छ ।
शुक्रबार दिउँसो करिब साढे १ बजे धरान-६ पानबारीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना भयो । मोटरसाइकल बिजुलीको पोलमा ठोक्कियो र उछिट्टिएर चालकको ज्यान गयो ।
मोरङको केराबारीबाट धरानतर्फ आउँदै गरेको मे१२प २०३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किँदा चालक झापाको दमक नगरपालिका १ निवासी ५० वर्षीय गिरिराज शेर्मा (लिम्बू) को मृत्यु भयो ।
‘सीसी क्यामेरा हेर्दा खासै स्पीडमा त होइन, उहाँ सरर आइरहेको बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको देखिन्छ’, इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले भने, ‘त्यसपछि पोलमा ठोक्किएर उहाँ सडकमा लड्नुभएको छ, त्यतिबेलै उहाँको ज्यान गएको छ ।’
तुम्बेवा–१ पाँचथर स्थायी घर भएका शेर्मा पाँचथरमै गणित विषय पढाउने शिक्षक हुन् भने हाल श्री राष्ट्रिय रमरणीय आदर्श सेकेण्डरी स्कुल शिवसताक्षी–११ दूधे झापाका प्रधानाध्यापक हुन् ।
उनी बुबाको उपचारका लागि धरानमै आउँदै थिए । बुबाको धरानमै उपचार गर्ने भनेर पैसाको जोहो गरेर आउँदै गर्दा उनी दुर्घटनामा परेको पाइएको प्रहरीले जनाएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुबाको उपचार गराउन आएका छोरा धरान आइपुगेपछि दुर्घटनामा आफैं अस्ताएको सारै दुखद् घटना घटेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी राईले जानकारी दिए ।
‘बुबाको प्यारालाइसिसीलगायत अन्य समस्या रहेछ, बुबाको उपचारका लागि उनले पैसाको जोहो गरेर धरान आउँदै थिए’, उनले भने, ‘तर धरानको पानबारीमा आइपुगेपछि दुःखद् घटना घट्न पुग्यो ।’
उनका बुबा शुक्रबार मात्रै धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि भर्ना भइसकेका छन् ।