धरानः धरानका विद्यार्थी विज्ञान प्रदर्शनीमा सहभागी हुन पहिलोपल्ट जाने भएका छन् । इटालीमा आयोजना हुने ‘माइलसेट एक्स्पो साइन्स युरोप’ नामको प्रदर्शनीमा सहभागी हुन धरानका विद्यार्थी जाने भएका हुन् । विज्ञान, प्रविधि र नवप्रवर्तनमा रुचि राख्ने युवाहरूका लागि यो ठूलो अन्तर्राष्ट्रिय मञ्च हो ।
धरान-१६ स्थित युएन, नवोदय कलेज कक्षा-१२ विज्ञान सङ्कायका विद्यार्थी प्रशन्न श्रेष्ठ नेपालभरबाट छनौटमा परेर त्यहाँ जाने अवसर पाएका हुन् । नेपालभरबाट हजारौं विद्यार्थीमध्ये तीनजना विद्यार्थी छनौटमा पर्दा उनी पनि छनौटमा परेको कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
इटालीको मन्टुवामा आयोजना हुने प्रदर्शनी युवा वैज्ञानिकहरूका लागि आयोजना गरिने एउटा अन्तर्राष्ट्रिय गैर–प्रतिस्पर्धात्मक विज्ञान प्रदर्शनी हो । यसको मुख्य उद्देश्य संसारभरिका बालबालिका तथा युवाहरूले तयार पारेका विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितका प्रोजेक्टहरूलाई एउटै मञ्चमा स्टेज कार्यक्रमसहित प्रस्तुत गर्ने गरिन्छ ।
प्रशन्नले आफूले नेपालका बोटविरुवाको बारेमा प्रदर्शनीस्थलमा स्टल राख्ने जानकारी दिए । प्रशन्न विज्ञान सङ्कायमा यस वर्ष ए प्लससहित कलेज टपर विद्यार्थी रहेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । ‘प्रशन्न एउटा कलेजको टपर विद्यार्थी मात्रै होइनन्, विज्ञान प्रविधि र आविष्कारको क्षेत्रमा जुन लगाव देखाए, त्यसको परिणामस्वरुप उनलाई इटाली जाने अवसर मिलेको हो ।’ उनले भने ।
१८ अक्टोबरदेखि २३ अक्टोबर २०२६ सम्म आयोजना हुने प्रदर्शनीमा विश्वभरबाट सहभागी विद्यार्थीले वातावरण, रोबोटिक्स, अन्तरिक्ष विज्ञान, जैविक प्रविधिजस्ता विषय प्रदर्शनीस्थलमा प्रदर्शन गर्नेछन् । यस्तै, वैज्ञानिक संस्कृति र कार्यशाला, आफ्नो परम्परा, पोशाक र संस्कृति आदानप्रदान, प्रयोगशाला, अनुसन्धान केन्द्र र ऐतिहासिकस्थलहरूको अवलोकन समेत गराइने गरिन्छ ।
‘यो कुनै प्रतिस्पर्धा वा प्रतियोगिता नभएको, कुनै रयाङकिङ वा पुरस्कार हुँदैन, बरु ज्ञान र संस्कृतिको आदानप्रदानलाई प्राथमिकता दिइन्छ’, प्रशन्नले भने, ‘सामान्यतया १२ देखि २५ वर्ष उमेर समूहका विद्यार्थी र युवा अन्वेषकहरूले यसमा भाग लिन सक्छन्’, उनले भने, ‘विज्ञान परियोजनाहरूको प्रदर्शनी, अन्तरक्रियात्मक कार्यशाला, सांस्कृतिक भ्रमण र वैज्ञानिक सम्मेलनले गर्दा आफूमा थप सिक्ने अवसर मिल्नेछ ।’
यसैबीच सोमबार प्रशन्नलाई कलेजले सम्मान गरेको छ । अभिभावकको उपस्थितिमा उनलाई सम्मान गरेको हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक विष्णु दाहाललगायतले उनलाई सम्मान प्रदान गरे । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले आफूले पढाएको विद्यार्थीले अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाउँदा गौरवको विषय भएको बताए ।
यसअघि प्रशन्नले राष्ट्रिय खगोलशास्त्र प्रतियोगितामा पनि फाइनलमा प्रवेश गरेका थिए । १३ औं राष्ट्रिय खगोलशास्त्र प्रतियोगिता-२०२६ को फाइनल चरण (तेस्रो चरण) मा छनोट भएका थिए ।
यस्तै, नेपाली कांग्रेसले बीपी जयन्तिमा आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितामा तेस्रो बनेकी कलेजकी कक्षा–११ मा अध्ययनरत् रिदिमा भुजेललाई पनि सम्मान गरिएको थियो । उनले प्रतियोगितामा जित्दै नगद चार हजार पाँच सयसहित मेडल र बीपीले लेखेका साहित्यक पुस्तक प्राप्त गरेकी थिइन् ।



















