धरानः धरान उपमहानगरपालिका वडा नम्बर १४ मा पर्ने ऐतिहासिक र पुरातात्विक महत्व बोकेको विजयपुर दरबार क्षेत्रमा राखिएको ‘वाबुक’ अर्थात् चिण्डो उखालेर फालिएको अवस्थामा फेला परेको छ ।
२०८१ र २०८२ साउन २१ गते राखिएको सो चिण्डोका विषयलाई लिएर केही समयअघिदेखि धरानमा राई र लिम्बू समुदायबीच सामाजिक सञ्जालमा चर्को विवाद हुँदै आएको थियो । दुई समुदायबीचको विवाद हुँदै गर्दा नै सोमबार बिहान लिम्बू जातिहरूले पूजा गर्दै आएको स्थानमा रहेको चिन्डो निकालेर केही पर लगेर फालिएको भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल शाहको नेतृत्वमा पुगेको प्रहरीले घटनास्थलको निरीक्षणपछि फिन्गर प्रिन्ट लिने काम साथै सिसी क्यामेराबाट हेर्ने काम भएको प्रहरीले जनाएको छ । ‘हामीले सोही ठाउँमा एक घरमा रहेको सिसी क्यामेराको फुटेज निरीक्षण गरयौं तर त्यसमा केही फेला परेन’, प्रहरी निरीक्षक शाहले भने, ‘धरान–१४ वडा कार्यालयमा रहेको सिसी क्यामेराको फुटेज हेर्न बाँकी छ, वडाध्यक्ष उपचारका लागि अस्पताल जानुभएकोले हामीले केही हेर्न सकेनौं, उहाँ आएपछि फुटेज हेर्नेछौं ।’
बिहानको समयमा घटना भएको हुनसक्ने हुनाले थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । ‘एकाबिहानै एकजनाले प्रहरीलाई फोन गरेका थिए, त्यही फोनका आधारमा प्रहरी पुगेर घटनास्थलको निरीक्षण साथै अन्य प्रक्रिया अघि बढाइएको हो ।’ उनले भने ।
विजयपुर दरबारको सुरक्षाका लागि बनाइएको गढी (सुरक्षा पोष्ट, सेन्ट्री बस्ने ठाउँ) भनिएको स्थानमा चिण्डोको प्रतिमा राखिएपछि विवाद बढ्दो थियो । लिम्बू समुदायका अगुवाहरूले चिण्डो राखेर लिम्बू संस्कृति र भूमिमा अतिक्रमण भएको भन्दै विरोध जनाएका छन् । उनीहरूले सो स्थानबाट बाबुक हटाउनुपर्ने माग राख्दै आएका थिए ।
किरात याक्थुङ चुम्लुङ धरानले भने लिम्बुवानको ऐतिहासिक राजधानीमा सांस्कृतिक अतिक्रमण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति नै निकालेको थियो । चुम्लुङका अध्यक्ष तीर्थ मादेम्बा र सचिव विप्लव योक्खेनद्वारा जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ ।
उता किरात राई यायोक्खाले यसलाई साझा रूपमा संरक्षण गर्नुपर्ने बताउँदै आएको थियो ।

विवाद उत्कर्षमा पुग्दै गर्दा प्रतिनिधिसभा सदस्य सुनसरी १ का सांसद हर्कराज राई (साम्पाङ) ले पनि यसलाई चासो लिएका छन् । उनले राति नै घटना घटेको हुनसक्ने समेत बताएका छन् । उनले वार्ता, सहमति र सहकार्यमा टुंग्याइनुपर्ने विषय हो भन्दै आएका छन् ।
केही हप्ताअघि फेसबुकमा स्टाटस लेख्दै तीन वर्षअघि राखिएको प्रतिमामा अहिले किन विवाद निकालियो भनेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘विवाद समाधानको बाटोमा हामी निरन्तर छौं, फोर्स निर्माण गर्नेतिर कसैले नसोचौँ ! संवाद र सहमतिले मात्र समस्या समाधान हुन्छ । दुवै पक्षलाई धैर्य धारण गरेर समाधानको बाटोमा आउन अनुरोध छ ।’
उनले सोमबार पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् बोलेका छन्– किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङका प्रतिनिधि राखेर संवाद, छलफल अघि बढाइएको बताउँदै फेरि पनि समस्या समाधानका लागि छलफल, संवाद जरुरी रहेको बताए ।
केही दिनअघि विजयपुर क्षेत्रमा ‘लिम्बुवान फोर्स’ (एलभी) हरूले सरसफाइ गरेका थिए । विजयपुर दरबार संरक्षण संघर्ष समितिका प्रवक्ता अमित थेबेले सांस्कृतिकरूपमा अतिक्रमण भएको दाबी गरेका छन् । विजयपुर दरबार क्षेत्रलाई लिम्बुवानकालीन दरबारका रूपमा लिइने र यहाँ भएका इँटा, ढुंगा तथा धातुहरूले यो दरबार क्षेत्र नै भएको पुष्टि गर्दै आएको उनले बताए ।
उनले सांसद साम्पाङकै रोहबरमा वार्तामार्फत् समस्या समाधान गर्ने प्रयत्न भएको बताए । प्रारम्भिक चरणको वार्तामा विजयपुर दरबार संरक्षण समितिको तर्फबाट दरबार परिसरको सेन्ट्री पोष्ट नजिक तथा समाधि क्षेत्रमा निर्माण गरिएको संरचना अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्ने प्रस्ताव गरिएको र सो प्रस्तावकै कारण वार्ता हुन नसकेको विज्ञप्तिमा जनाइएको छ । त्यहाँ रहेको चिण्डा अज्ञात समूहले हटाएको प्रति समितिले दुःख व्यक्त गर्दै घटनाले विवादलाई बढवा दिने हुनाले संयमता अपनाउन पनि विज्ञप्तिमा भनिएको छ ।
